उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि सकियो छठ

उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि सकियो छठ

वीरगञ्ज,६ मंसिर : पूर्व क्षितिजबाट उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चारदिने छठ पर्व सकिएको छ । शुक्रबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईमधेसवासीको महान चाड छठको उल्लास सकिएको छ ।

कोरोना महामारीका कारण विगतको वर्षहरुमा भन्दा केही फरक ढंगले छठ मनाइएको छ । वीरगञ्जका छठघाटहरु विशेष किसिमले सजाइएका छैनन् । विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयहरु सिँगारेर झकिझकाउ पार्ने गरिएको थियो ।

वीरगञ्जको घडिअर्वा पोखरी, स्वीमीङ पुल, नगवा पोखरी, मुर्ली, छपकैया, रामगढवा, तेजारथ टोल, चिनी मिल आवासक्षेत्र, पिपरा, परवानीपुर, सुखचैना लगायत ग्रामीणक्षेत्रका पोखरी तलाउहरुमा छठको विशेष आकर्षण देखिने गरेको थियो । यस वर्ष अधिकांश छठघाट सजाइएको छैन ।

छठघाटमै गएर शिरसोप्ताको पूजा, छठी मैयाको आराधना र सूर्यको उपासना गर्ने कतिपयले यसवर्ष घरको छत र आँगनमै पर्व मनाएका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासन र स्थानीय सरकारले छठघाटमा भिडभाड नगर्न आग्रह गरेको थियो । विशेषगरी सहर बजारका धेरै ब्रतालुहरुले घरको छतमै कृत्रिम पोखरी बनाएर पूजा अर्चना गरेका छन् ।

नदी, खोला र पोखरीस्थित छठघाटमा ब्रतालुहरु र दर्शनार्थीहरुको भिड विगतको वर्षमा भन्दा कम देखिएको छ । मास्क अनिवार्य भनिए पनि छठघाटमा मास्क नलगाउनेहरुको संख्या पनि बाक्लो छ । छठघाटमा मास्क निःशुल्क वितरण गरिएको भएपनि अधिकांशले मास्क नलगाएको पाइएको छ ।

कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ दिएर छठ पर्व मनाइन्छ । ‘सँझिया घाटे’ भनिने षष्ठीको दिनलाई छठको मुख्य दिन मानिन्छ । छठ पर्व विशेष गरी नेपालको मध्य र पूर्वी तराईमा मनाईने गरिएको भएपनि पछिल्लो समयमा काठमाडौं, हेटौंडा, चितवन लगायतका केही पहाडी र भित्रि मधेशका जिल्लामा समेत उल्लासका साथ मनाउने गरिन्छ ।

छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै पातसहितको मुला, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु  लगायतका फलफूल पनि चढाउने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

चैतमा पनि छठ पर्व मनाइन्छ । कतिपयले भाकल पूरा भएपछि छठको व्रत बस्ने गरेका छन् भने कतिपयले मनोकांक्षा पूरा होस् भनेर छठी माता र सूर्यको आराधना गर्दछन् ।

प्रकृतिको छैठौं वंशले उत्पन्न भएकी ब्रम्हाकी मानसी पुत्रीलाई षष्ठीदेवी भनेर चिनिन्छ । स्वामी कार्तिकेयको श्रीमती नै छठी माता भएको सँस्कृतिविदहरु बताउँछन् । बालदा षष्ठी अर्थात बालक दिने र बालककको पूरा हेरचाह गर्ने भनेर छठीमाता चिनिन्छ । छठमा सुर्यको उपासनासँगै उनै देवीको पूजा गरिन्छ ।

केके गरिन्छ छठको चार दिन

कात्तिक शुक्लपक्षमा चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा नुहाइधुवाइ गरेर शुद्ध भई लसुन र प्याज बेगरको चोखो साकाहारी खाना एक छाक खाने गर्छन् । जसलाई  स्थानीय भाषामा ‘नहाय खाए’ भन्ने गरिन्छ । छठको दोश्रो दिन अर्थात कात्तिक पञ्चमी तिथिको दिन व्रतालुहरु दिनभरि निर्जला व्रत बस्छन् र साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा नयाँ चुल्हो बनाएर त्यसैमा चामल र भेलीको खीर, रसीआव तथा गहुँको रोटी प्रसादका रुपमा पकाइन्छ ।

प्रसाद अर्थात रसीआव रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि ब्रतालुहरुले प्रसाद स्वरुप खाएर निर्जला ब्रत बस्छन् । पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गरिन्छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ दिएपछि पर्व सम्पन्न हुन्छ ।

त्यसपछि ब्रतालुहरुले नजिकमा रहेका देवी मन्दिरहरुमा पूजा अर्चना गर्ने र घरमा रहेका ठूलाबडाको आशिर्वाद थाप्ने चलन रहेको घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका सचिव मनोहर साह बताउँछन् । ब्रत तोड्ने बेलामा भने ब्रतालु महिलाहरुले तातो पानीमा अदुवा र सख्खर मिसाएर घोल बनाएर खाने गर्दछन् ।

सूर्य पुजनको महत्व  

आधुनिक युगमा पनि वैकल्पिक ऊर्जाको स्रोतको रूपमा सूर्यको महत्व छ । सूर्यको हरेक दिन र याममा मानवलाई खाँचो पर्छ । प्राचीन एवं आधुनिक चिकित्सा प्रणालीले कठिन रोगको उपचार र हानीकारक कीटाणु नष्ट गर्न सूर्य किरण महत्वपूर्ण रहेको बताउँछन् । योगा र ध्यान पद्धतिमा पनि सूर्यको उपासनालाई विशेष स्थान दिने गरिएको छ । उदाउँदै गरेको सूर्यको किरण शरीरमा परे त्यसबाट भिटामिन डि प्राप्त हुने चिकित्सकहरुको भनाइ छ ।

विभिन्न धर्म, जाति र समुदायको नाममा विभाजित हुने क्रम बढीरहेको समयमा एकै थलोमा उभेर गरिने सूर्यको उपासनाले एकताको सूत्रमा बाँधेको सन्देश दिन्छ । पश्चिम एसिया, प्राचीन युनान, इजिप्ट र बेबिलोन सभ्यता (हाल इराकको एक भाग) मा समेत सूर्यको पूजा हुने गरेको थियो । छिमेकी भारत र विश्वका थुप्रै स्थलमा सूर्य (अपोलो) मन्दिरहरू छन् । भारतकै उत्तरप्रदेश, विहार र झारखण्डमा पनि छठ पर्वलाई विशेष महत्व दिएर मनाउने गरिन्छ ।

कसरी शुरु भयो छठ ?

छठ शुरु भएकोबारे विभिन्न किम्बदन्तीहरु भेटिन्छन् । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । त्यसबखत उनीहरु पाण्डव विराट राजाको दरबारमा कामदारका रुपमा थिए । त्यहीबेलादेखि छठ मनाउने परम्पराको थालनी भएको बताइन्छ ।

अर्कोतर्फ सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठको व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि अटल सौभाग्य, परिवारको सुख शान्ति र पति प्रेमका लागि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको विश्वास गरिन्छ ।

त्यसैगरी साम्ब पुराणमा पिता श्रीकृष्ण तथा महर्षी दुर्वासाको श्रापका कारण कुष्ठरोगबाट पीडित बनेका साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त भएको चर्चा छ । यसमा झुप्पा–झुप्पा फलफूल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका परिवार र नाताकुटुम्बको समेत भलो हुन्छ भन्ने धार्मिक विश्वास छ । कात्तिक शुक्लपक्षमा विधिपूर्वक सूर्यको पूजाआराधना गरी अर्घ दिएमा चर्म रोग लाग्दैन भन्ने मान्यता पनि छ । यसकारणले गर्दा पनि छठको लोकप्रियता बढ्दै गइरहेको छ ।