ट्रम्पको बहिर्गमनले ‘पपुलिष्ट’ राष्ट्रवादी राजनीतिको लहरलाई रोक्ला ?

ट्रम्पको बहिर्गमनले ‘पपुलिष्ट’ राष्ट्रवादी राजनीतिको लहरलाई रोक्ला ?

काठमाडौं,२३ कात्तिक : यस पटकको अमेरिकी राष्ट्रपति निर्वाचनलाई विश्वका राजनीतिक नेता र राजनीतिशास्त्रका पन्डितले नजिकबाट नियालेका थिए । किनभने यस पटकको निर्वाचनको नतिजाले राजनीतिक रुपमा अमेरिकाभित्र मात्र होइन, संसारभर ठूलो प्रभाव पार्दथ्यो । खुला, उदार र बहुपक्षीय सिद्धान्तलाई अंगिकार गर्ने विश्वभरका मानिसहरु डोनाल्ड ट्रम्पले चुनाव हारुन् भन्ने चाहन्थे ।

अन्तत अनुदार पपुलिष्ट राष्ट्रवादी नेताको छवि बनाएका ट्रम्प निर्वाचनमा पराजित भएका छन् । यसको असर अमेरिका मात्र होइन, विश्वभर नै पर्ने देखिन्छ । डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनको जितले विश्वभर उदार लोकतन्त्र, बहुपक्षिता र नियममा आधारित इन्टरनेसल अर्डरलाई टेवा पुग्ने विश्लेषकहरु बताउँछन् ।

ट्रम्पको हारले पछिल्लो पटक विश्वभर देखिएको पपुलिष्ट राष्ट्रवादी राजनीतिको लहरलाई गम्भीर धक्का लाग्ने देखिन्छ । अर्काेतर्फ संसारभरका पपुलिष्ट, अनुदार र उग्रराष्ट्रवादी शासक, जसले ट्रम्पको बलियो समर्थन पाएका थिए, उनीहरुका लागि ट्रम्पको हार एउटा ठूलो झट्का हो ।

राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पले अमेरिकालाई फेरि महान बनाउने घोषणा गरे । त्यसयता धेरै मुलुकमा पपुलिष्ट अनुदारवादी शासकहरुको उदय भयो । ट्रम्पको पराजयसँगै यो लहरलाई गम्भीर धक्का लाग्ने विश्लेषकहरु बताउँछन्

पपुलिष्ट राष्ट्रवादी नेताको परिचय बनाएका ट्रम्प विश्वको सुपरपावर अमेरिकाको राष्ट्रपतिको कुर्सीमा रहँदा त्यसले विश्वभरको राजनीति प्रभावित हुनु स्वाभाविक थियो ।

विशेषत पपुलिष्ट नेताहरुले अन्य मुलुकहरुको समर्थन जुटाएर लामो समयदेखि चलिआएको अन्तर्राष्ट्रिय प्रणालीलाई परिवर्तन गरेर फाइदा लिने प्रयत्न गर्छन् । त्यसका लागि उनीहरुले विभिन्न मुलुकहरुसँग सहकार्य चाहन्छन् र अन्य मुलुकमा पनि पपुलिष्ट राष्ट्रवादी राजनीतिको उदय हुन्छ ।

ब्रेकजिटदेखि ब्राजिलका राष्ट्रपति जयर बोलसोनारो र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको साझा विशेषता छ । ती हुन्– उनीहरु दक्षिणपन्थी बाटोमा झुकाव राख्छन् र नक्कली राष्ट्रवादको पृष्ठपोषण गर्छन् । उनीहरु आफ्नो व्यक्तिगत फाइदाका लागि अन्तर्राष्ट्रिय प्रणाली र नीतिमा परिवर्तन ल्याउने प्रयास गर्छन् । आफ्नो राजनीतिलाई केन्द्रमा राखेर पपुलिष्ट कुरा गर्छन् । पछिल्लो चार वर्षमा यस्ता धेरै दृश्यहरु देखिए ।

सन् २०१६ मा ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि विश्वमा पपुलिष्ट राजनीतिको लहर आएको पाइन्छ । ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुभन्दा केही समय अगाडि मात्रै बेलायतले युरोपियन युनियनबाट बाहिरिने पक्षमा मतदान गरेको थियो ।

यस अवधिमा संसारभर ट्रम्पको शैली र नारा अपनाएर शक्तिमा पुगेकाहरुका लागि एउटा गतिलो सन्देश हो– यस खालको राजनीति टिकाउ छैन । युरोप लगायतका अन्य प्रजातान्त्रिक मुलुकहरु, जहाँ अमेरिकाको प्रभाव छ, ती मुलुकहरुमा यसको प्रत्यक्ष असर पर्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

पपुलिष्ट राष्ट्रवादको असर नेपाल र छिमेकी मुलुक भारतमा पनि देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिणपन्थी पपुलिष्ट र उग्रराष्ट्रवादीको परिचय बनाएका छन् ।

उनले लिएको अर्काे नीति हिन्दु राष्ट्रवाद हो, जसप्रति भारतमा रहेका अल्पसंख्यकको अधिकारको विषयमा विश्वभर चिन्ता छ । नेपालमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले उग्रराष्ट्रवादको जगमा निर्वाचन जितेका थिए ।

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एक टवीट् मार्फत भनेका छन्, ‘ट्रम्प गए होलान् तर ट्रम्पपीजम चाहिँ विभिन्न देशमा विभिन्न स्वरुपमा रहेको छ ।’

यसैगरी नेपाली कांग्रेसका युवा नेता गगन थापा भन्छन्, ‘अमेरिकी चुनावी परिणामले विश्व राजनीतिलाई फेरि उदार लोकतन्त्र, सहकार्य र बहुपक्षिता तर्फ डोर्‍याउँछ भन्नेमा विश्वास पलाएको छ । निःसन्देह यो नतिजाले हाम्रो घरभित्रका र अन्य तिरका पनि अनुदार, जिङगोइस्टिक, आत्मरतिमा अभिभूत नेता र सरकारलाई तह लगाउन प्रयत्नशील सबैलाई प्रेरित गर्छ ।’

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले सन् २०१६ मा ट्रम्प राष्ट्रपति भएपछि विश्वव्यापी रुमा दक्षिणपन्थी राष्ट्रवाद, लोकप्रियतावाद, अनुदारवाद र एक जातीय प्रभुत्ववादी राजनीति हावी भएको बताउँछन् । उनले एक ट्वीट मार्फत् भनेका छन्, ‘अहिले ट्रम्पको पराजय र बाइडेनको विजयले उदार र समावेशी लोकतन्त्र, बहुलवादी समाज, बहुपक्षितावाद र उदार वर्ल्ड अर्डरको पुनः विजय भएको छ ।