पीएसजीमा अनुबन्धित रोमाका डिफेन्डर

पीएसजीमा अनुबन्धित रोमाका डिफेन्डर

शनिबार, भदौ २७ : फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इटाली तथा इटालियन सिरी ‘ए’ क्लब रोमाका डिफेन्डर एलेसान्द्रो फ्लोरेन्जीलाई अनुबन्ध गरेको छ ।

पीएसजीले राइट ब्याक फ्लोरेन्जीलाई एक वर्षको लागि लोनमा अनुबन्ध गरेको हो । सम्झौतामा पीएसजीले २९ वर्षीय लेफ्ट ब्याक फ्लोरेन्जीलाई प्रदर्शनको आधारमा स्थायी खेलाडी बनाउन सक्ने शर्त पनि राखेको छ । फ्लोरेन्जीले गत जनवरीदेखि लोनमा स्पेनिस क्लब भ्यालेन्सिया पुगेका थिए ।

‘म पीएसजीको खेलाडी बन्न पाएकोमा गर्व र खुसी छु,’ उनले क्लबको आधिकारिक वेवसाइटमा भने, ‘पीएसजी युरोपको प्रतिष्ठित क्लब हो । जसले गत महिना युइएफए च्याम्पियन्स लिगको फाइनल खेल्दै पुष्टि गरेको छ । म पीएसजी र क्लबको समर्थकलाई दुःखी तुल्याउने छैन । यो सिजन हामीलाई चुनौती छ । नयाँ टोलीसँग नयाँ सिजनमा खेल्न पाउँदा खुसी पक्कै छु ।’

भर्सटाइल फ्लोरेन्जीको आगमनले क्लबले राइट ब्याकमा थोमस म्युनियरको अभाव पुर्ति हुने विश्वास लिएको छ । म्युनियर सिजनको अन्त्यसँगै फ्रि एजेन्टमार्फत जर्मन क्लब बोरुसिया डर्टमुन्ड पुगिसकेका छन् । च्याम्पियन्स लिगको फाइनलमा थिलो केहररले तथा लिग वानको पहिलो खेलमा लेभिन कुर्जावा र युवा खेलाडी कोलिन डग्वाले राइट ब्याक सम्हालेका थिए ।

२०१० देखि टोलीमा रहेका कप्तान फ्लोरेन्जोले रोमाको लागि २८० खेलमा २८ गोल गरेका छन् । गत सिजन क्रुसिएट नि लिगामेन्ट इन्ज्युरीका कारण लामो समय मैदान बाहिर रहनु परेपछि फ्लोरेन्जोले कमै मात्रमा अवसर पाउदा जनवरीमा लोनमा भ्यालेन्सिया पुगेका थिए । उनले रोमालाई तीन सिजन सिरी ‘ए’ को उपविजेता बनाउन सफल भएका थिए । उनले गत सिजन भ्यालेन्सियाबाट १४ खेल खेलेका थिए ।

फ्रेन्च च्याम्पियन पीएसजीले नयाँ सिजनका लागि लोनमा पीएसजीमा रहेका मोउरो इकार्डी र सर्जियो रिकोलाई स्थायी खेलाडी बनाएको छ । लिग वानको नयाँ सिजनको पहिलो खेलमा लेन्ससँग १–० ले स्तब्ध भएको पीएसजीले दोस्रो खेलमा आइतबार मार्सेसँग खेल्दैछ ।

मार्सेविरुद्ध पनि पीएसजी आफ्नो स्टार खेलाडीविनै मैदान उत्रने सम्भावना छ । पीएसजीका पहिलो रोजाईका ७ खेलाडीलाई कोरोना देखिएको थियो । स्टार खेलाडी नेयमार कोरोनामुक्त हुदै प्रशिक्षणमा सामेल भइसकेका छन् ।