खुकुलो गरेसँगै टुटल र पठाओले पनि थाले सेवा

खुकुलो गरेसँगै टुटल र पठाओले पनि थाले सेवा

२५ भदौ, काठमाडौं:  निषेधाज्ञाका कारण बन्द भएका राइड सेयरिङ सेवाहरु नियमित हुन थालेका छन् । राइड सेयरिङ सेवाहरु दिने नेपाली कम्पनी टुटल र पठाओले नियमित सेवा थालेको छ । उपत्याकामा निषेधाज्ञा खुकुलो गरेसँगै राइडिङ सेयर गर्ने एपमार्फत सेवा थालनी भएको हो ।

नेपाली राइडिङ सेयर गर्ने कम्पनी टुटलले राइडर सतर्कतासहित सेवा थालेको छ । राइडरले पञ्जा, मास्क, चस्मा र सेनिटाइजर प्रयोग गर्नुपर्ने मापदण्ड तयार गरेर सेवा सुरु गरेको कम्पनीका संस्थापक शिक्षित भट्टले जानकारी दिए ।

‘हामी सतर्कतासहित सेवा दिन्छौं, यात्रुलाई पनि मास्क अनिवार्य लगाउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छौं,’ उनले भने ।

पठाओले नियमित सेवा सुरु नगरेपनि निश्चित राइडरमार्फत सतर्कतासहितको सेवा थालनी गरेको छ । पठाओले अत्यावश्यक अवस्थामा अत्यावश्य सेवा चाहानेहरूलाई  नियमित सेवामा दिने बताएको छ ।

‘हामीले लकडाउनपछि सेवा खुल्दा जसरी सेवा दियौं, त्यसैगरी आवश्यक सतर्कतासहित अब पनि सेवा थालेका छौं,’ पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नेतले भने ।

‘राइडरहरूलाई सेनिटाइजर, प्रोटेक्टिभ मास्क, सुरक्षात्मक कपडा लगाएर मात्रै सेवा दिन भनेका छौं, राइडपछि सवारी पनि स्यानिटाइज गर्छौं,’उनले भने ।

सार्वजनिक सवारी नचलेकाले समस्यामा परेकाहरूलाई सघाउने सामाजिक भावनासहित सेवा दिने गरिएको उनले बताए । अब नियमित सेवामा जान अन्ति तयारी भइरहेको पठाओले बताएको छ ।