‘जेल जान तयार छोराको गल्ति नै हो भने ’

‘जेल जान तयार छोराको गल्ति नै हो भने ’

सोमवार, चैत्र १० : क्वारेन्टाइनको नियम उल्लङ्घन भएको हो भने आफ्नो छोरा लुका जोभिचले सजाय स्वीकार गर्नुपर्ने पिता मिलानले बताएका छन् । रियल म्याड्रिडका स्ट्राइकर लुका प्रेमिकाको जन्म दिन मनाउनका लागि स्पेनबाट सर्बिया पुगेका थिए । तर, क्लबको १४ दिनको क्वारेन्टाइन बस्ने पर्ने नियमलाई उनले उल्लङ्घन गरेको बताइएको छ ।

‘लुकाले दुई पटक कोराना भाइरसको परिक्षण गराएको छ । दुवै पटक नेगेटिभ आयो’,  बुबा मिलन जोभिचले भने, ‘त्यसै कारण उसले सोच्यो उ सर्बिया आउन सक्छ । तर, अहिले भने उनी ठूलै अपराध गरे जस्तो भएको छ । यसका लागि यदि उनी जेल जानुपर्छ भने जान्छन् ।’

जोभिचका पिताले सर्बियाका राष्ट्रपति र प्रधानमन्त्रीको अव्हानलाई पूर्ण रुपमा स्वीकार गर्ने उल्लेख गरेका छन् । उनले थपे, ‘यदि उनले गल्ति गरेको प्रमाणित हुन्छ भने उनले सजाय भोग्नु पर्छ ।’

लुका सर्बिया बेलग्रेडमा घर गएर बसेका थिए । ‘यदि उनले गल्ति गरेको प्रमाणित हुन्छ भने त्सपछिको निर्णयको म समर्थन गर्नेछु’, पिताले भने, ‘उनीकी प्रेमिका गर्भवती छिन् । जन्मदिन मनाउनका लागि उनी घर बाहिर जाने अवस्था छैन ।’

यसअघि रियल म्याड्रिडका फरवार्ड लुका जोभिचले सर्बियामा क्वारेनटाइन तोडेपछि सरकारका प्रधानमन्त्री आना ब्रानाबीच र राष्ट्रपति एलेक्जेन्डर भुचिचले गिरफ्तार गर्नेसम्मको चेतावनी दिएका थिए । कोरोना भाइरस संक्रमणका कारण युरोपेली फुटबल ठप्प भएपछि जोभिच आफ्नो देश सर्बिया फर्केका थिए ।

तर रियल म्याड्रिडले त्यसअघि नै आफ्ना सम्पूर्ण खेलाडी, अफिसियल तथा कर्मचारीलाई आ-आफ्नो बासस्थानमा क्वारेनटाइनमा बस्न आव्हान गरेको थियो । रियल म्याड्रिडको बास्केटबल टोलीका खेलाडीमा संक्रमण देखिएको र फुटबल टोलीले पनि एकै स्थानमा प्रशिक्षण गर्ने कारण विशेष सावधानी अपनाउन भनिएको थियो ।