युरोपा लिग र च्याम्पियन्स लिग स्थगित

युरोपा लिग र च्याम्पियन्स लिग स्थगित

शुक्रबार, फाल्गुन ३० : युरोपेली फुटबल महासंघ (युइएफए) ले आफ्नो मातहातमा हुने सम्पूर्ण फुटबल गतिविधि च्याम्पियन्स लिग, युरोपा लिग र युथ लिग स्थगित भएको घोषणा गरेको छ ।

चीनको उहान प्रान्तबाट सुरु भएर विश्वव्यापी रुपमा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण सम्पूर्ण गतिविधि स्थगित गर्नु परेको युइएफएले जनाएको छ । ‘बिहीबार फिफप्रो र ५५ सदस्यीय युइएफएको भिडियो कन्फ्रेन्स मार्फत बसेको बैठकले खेलसँग सम्बन्धित सबैको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो ,’ युइएफएले उल्लेख गरेको छ ।

युइएफएले खेलाडीहरुमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि प्रतियोगिता स्थगित गर्नुपरेको उल्लेख गरेको छ । आगामी मंगलबार स्पेनिस क्लब रियल म्याड्रिडले च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीको सामना गर्दै थियो । तर, रियलका बास्केटबल खेलाडमा कोरोना पोजेटिभ भेटिएपछि रियलका सबै खेलाडी क्वारेन्टाइनमा बस्नुपर्ने भएपछि खेल स्थगित हुन पुगेको थियो ।

इटाली, स्पेन, फ्रान्स लगायतका देशका राष्ट्रिय लिगहरू कम्तिमा २ हप्ताका लागि स्थगित भइसकेका छन् । युभेन्टसका पाउलो डिबाला र रुगानी, चेल्सीका कलुम हड्सन ओडोई र आर्सनलका प्रशिक्षक मिकेल अर्टेटालाई कोरोना पोजेटिभ देखिएको छ । च्याम्पियन्स लिग र युरोपा लिगको केही खेलहरु क्लोज डोरमा खेलाईएको थियो ।