‘ब्याड ब्वाई’ राहुल १४ वर्ष कान्छी मुग्धाको प्रेममा

‘ब्याड ब्वाई’ राहुल १४ वर्ष कान्छी मुग्धाको प्रेममा
मुम्बई : बलिउडमा थुप्रै स्टार कपल यस्ता छन्, जसको उमेर अन्तरका कारण प्रायः चर्चा हुने गरेको छ । अर्जुन कपूर-मलाइका अरोडा, शाहिद कपूर-मीरा र आमिर खान-किरण राव यसका उदाहरण हुन् । उनीहरुले उमेर अन्तरलाई लिएर आफ्नो विचार पनि राखिसकेका छन् । बलिउडका ‘ब्याड ब्वाई’ राहुल देव पनि अहिले आफूभन्दा १४ वर्ष कान्छी युवतीको प्रेममा छन् ।
गएको केही वर्षदेखि अभिनेत्री मुग्धा गोडसेलाई उनले डेट गरिरहेका छन् । सन् २०१५ देखि एकअर्काको प्रेममा डुबेका उनीहरु प्रायः सोसल मिडियामा एकअर्कासँगको तस्विरहरु साझेदार गरिरहेका हुन्छन् । दर्जनौं बलिउड र साउथ फिल्ममा नकारात्मक भूमिकामा अभिनय गरिसकेका अभिनेता राहुलले आफूभन्दा १४ वर्ष कान्छी युवतीसँगको प्रेमको विषयमा मुख खोलेका छन् ।
एक अन्तर्वार्तामा राहुलले भने- ‘हामी दुईबीच १४ वर्षको अन्तर छ । उमेर अन्तरले मलाई सुरुवाती दिनमा समस्या भयो तर त्यसपछि मैले महशुस गरेँ कि मेरा आमा-बुबामा पनि १० वर्षको उमेर अन्तर थियो । यसकारण मुग्धा र मबीच १४ वर्षको अन्तर हुनु ठूलो कुरा होइन । जे भए पनि, म विश्वास गर्छु कि जबसम्म तपाईं खुशी हुनुहुन्छ, तब एज ग्यापले फरक पार्दैन ।’
राहुलका अनुसार, उनीहरुको भेट एक साथीको विवाहमा भएको थियो र त्यही उनीहरुबीच चिनचान भएको थियो । यसपछि उनीहरुबीच घनिष्ठता बढेको थियो । राहुलको पहिलो श्रीमती रीनाको क्यान्सरका कारण सन् २००९ मा निधन भएको थियो । राहुल र मुग्धाको भेट सन् २०१३ मा भएको थियो । राहुल पछिल्लो पटक अनीस बज्मी निर्देशित फिल्म मुबारका’ मा देखिएका थिए ।