कमजोर बन्दै नेपाली मुद्रा लगानीकर्ताले सुरक्षा खोज्दा

कमजोर बन्दै नेपाली मुद्रा लगानीकर्ताले सुरक्षा खोज्दा

काठमाडौं,फागुन २८ : मङ्गलबार नेपाल सुनचाँदी व्यवसायी महासङ्घले असली सुन (फाइन गोल्ड २४ क्यारेट) को मूल्य प्रतितोला ८२ हजार ७ सय रुपैयाँ तोकेको छ । यो मूल्य इतिहासकै सबैभन्दा धेरै हो । नेपाली बजारमा सुनको मूल्य १० दिनको अवधिमा मात्रै ३ हजार ५ सय रुपैयाँले बढिसकेको छ ।

उता डलरको भाउ पनि आज वर्षभरिकै सबैभन्दा बढी पुगेको छ । आजको दिनमा १ डलर खरिद गर्न ११८ रुपैयाँ ८४ पैसा खर्च गर्नुपर्छ । १० दिन अगाडि १ डलर किन्नको लागि ११५ रुपैयाँ ८० पैसा तिरे पुग्थ्यो । यो करिब २.३६ प्रतिशतको वृद्धि हो । तर विश्व बजारमा डलरको भाऊ मात्रै नभएर अन्य मुद्राको भाउ पनि दिन प्रतिदिन बढिरहेको छ ।

मार्च १ र मार्च १० तारिखको तुलना गरेर हेर्ने हो भने जापानी येन यो अवधिमा सबैभन्दा बढी ९.०१ प्रतिशतले बढेको छ भने स्विस फ्रेङ्क, डेनिस क्रोनर, युरो र स्विडिस क्रोनरको भाउ ६ प्रतिशतभन्दा माथिले बढेको छ । त्यस्तै, पाउन्ड स्टर्लिङ र अस्ट्रेलियन डलरमा ४ प्रतिशतभन्दा बढीको वृद्धि देखिँदा सिङ्गापुर डलर, दक्षिण कोरियाली ओन र चिनियाँ युआनमा पनि ३ प्रतिशतभन्दा माथिको मूल्य वृद्धि भएको छ ।

१० दिनको यो अवधिमा अमेरिकी डलरसहित अन्य खाडी राष्ट्रहरुको मुद्रामा २ प्रतिशतको वृद्धि देखिँदा यो अवधिमा क्यानेडियन डलरको मूल्य सबैभन्दा कम अर्थात् १.१३ प्रतिशतले बढेको देखिएको छ । यो हिसाबले डलरको वृद्धि सामान्य नै हो ।

तर पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको निरन्तर घट्दै गएको छ । अहिले तेलको मूल्य घट्नुको प्रमुख कारण नै डलर बढ्नु हो भनिन्छ । तर के तेलको मूल्य घट्यो भन्दैमा नेपाली मुद्रा घट्नैपर्छ भन्ने कारण चाहिँ के हो त ? यसबारे केही चर्चा गरौँ ।

अन्तर्राष्ट्रिय बजारमा सुन, खनिज तेल जस्ता कमोडिटी लगानीको उपयुक्त माध्यम हुन् । त्यसबाहेक विभिन्न देशमा अन्तर्राष्ट्रिय मुद्रा, स्टक मार्केट र क्रिप्टोकरेन्सीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लगानीको माध्यमका रूपमा लिइन्छ । तर एउटा क्षेत्रमा समस्या देखिँदा त्यो क्षेत्रको लगानी अर्कोतिर सिफ्ट हुने क्रम भने बजारमा चलिरहन्छ ।

कोरोना भाइरसको सङ्क्रमणपछि विश्वका विभिन्न सहरहरु ‘लक डाउन’ भएपछि र विश्वकै आर्थिक गतिविधिमा सुस्तता आएपछि अहिले विश्व बजारमा तेलको माग घट्दै गएको छ । सोही कारण अहिले कच्चा तेलको मूल्य निकै घटेको छ । तेलको मूल्य घट्दै गएपछि त्यो क्षेत्रको लगानी विस्तारै घट्दै गएको छ । १० दिनअघि अर्थात् मार्च १ मा ४७.९ डलर प्रतिब्यारेल रहेको तेलको मूल्य सोमबार ३३.०२ डलरमा झरिसकेको छ । यो ३१.०७ प्रतिशतको गिरावट हो ।

तेलको मूल्य गिरावटको त्यही प्रभाव सुन र डलरमा परेको हो । नेपाल राष्ट्र बैङ्क अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट भन्छन् – ‘छोटो अवधिमै यसरी मूल्य घट्न थालेपछि यो क्षेत्रमा अतर्राष्ट्रिय लगानीकर्ताले लगानीको असुरक्षा महसुस गरे र उनीहरुले सुन र अन्तर्राष्ट्रिय मुद्रामा आफ्नो लगानी सिफ्ट गर्न थाले । त्यसैले अहिलेको प्रभाव देखिएको हो ।

मूल्यवृद्धि किन फरक फरक ?

यसमाथि पनि प्रश्न उठ्छ– यदि सवाल तेलको मात्रै हो भने डलर र जापानी येनको मूल्यवृद्धि किन समान भएन त ? यसको पनि कारण छ । तेलबाट सिफ्ट भएको लगानी लगानीकर्ताले कहाँ लगानी गरे भन्ने विषयले यसमा धेरै महत्त्व राख्छ । अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय बजारको लगानी विकसित राष्ट्रका मुद्रामा जान थालेको छ । त्यसको कारण हो विकसित राष्ट्रको बलियो अर्थतन्त्र । कार्यकारी निर्देशक भट्ट बलियो अर्थतन्त्र सानोतिनो समस्यालाई सहजै सामना गर्न सक्छ भन्ने धारणाका कारण अहिले लगानीकर्ताको लगानी त्यस्ता मुद्रामा बढी थुप्रिएको हो ।

‘हामीले २००८ को मन्दी पनि देख्यौँ । त्यति ठूलो मन्दीबाट पनि अमेरिकाले आफ्नो अर्थतन्त्रलाई बचाउन सफल भयो । अहिले देखिएको कोरोना सङ्क्रमणको कारणबाट सिर्जित समस्यालाई समेत अमेरिकी अर्थतन्त्रले सहजै सामना गर्नसक्ने भएकाले अहिले त्यो मुद्रा खरिद गरेर राख्ने प्रचलन सुरु भएको छ ।’ भट्ट भन्छन्– ‘अमेरिका मात्रै होइन, अन्य विकसित मुलुकको मुद्राको भाउ पनि बढ्दै गएको छ । तर विकासशील देशको मुद्रामा भने लगानीकर्ताले अझै विश्वास गर्न सकेका छैनन् ।’

तर मुद्राको मूल्य घट्ने कि बढ्ने भन्ने विषय त्यसको माग र आपूर्ति पक्षले मात्रै नभएर त्यसले दिने रिटर्नले पनि निर्धारण गर्छ । अहिले अमेरिकी डलरको त्यस्तो प्रतिफल कम भएको छ । भट्ट भन्छन्– ‘अमेरिकी केन्द्रीय बैङ्क फेडेरल रिजर्भले अमेरिकी ट्रेजरी बिलमा दिने ब्याजलाई अहिले एकै पटक ०.५ प्रतिशतले घटाइदिएको छ । यही कारण जापानी ऐन वा अन्य युरोपेली बजारका मुद्राहरुको भन्दा डलरको मुद्राको भाउ कमले मात्रै बढेको छ । तर अन्य विकासशील देशको मुद्राको मूल्य भने अझै बढ्न सकेको छैन ।’

भारतीय मुद्रा मात्रै कमजोर !

नेपाली मुद्रा र भारतीय मुद्राबीच निकै लामो समय अघिदेखि स्थिर विनिमयदर छ । त्यसैले भारतीय मुद्राको मूल्य घट्नु नै नेपाली मुद्राको मूल्य घट्नुको कारण हो । अर्थात् नेपाली मुद्राको ‘डिभ्यालुएसन’को कारण कमजोर भारतीय मुद्रा नै हो । भारतीय मुद्रा कमजोर हुनाको कारण भारतीय अर्थतन्त्र कमजोर हुनु हो ।

अहिले भारतीय अर्थतन्त्र मन्दीमा गुज्रिएको छ । कोभिड–१९ को चर्चाका कारण भारतीय अर्थतन्त्रको मन्दीको विषय छायाँमा परे पनि त्यो मन्दीको प्रभाव अहिले पनि छ । झन् भारतमा समेत कोरोनाको सङ्क्रमण देखिन थालेपछि यसले अर्थतन्त्रमा थप असर गर्दै जाने सम्भावना विज्ञहरु देख्छन् ।

अहिलेको भारतीय अर्थतन्त्रको मन्दी ‘माग पक्ष’को असन्तुलनको कारणले निम्तिएको हो । सोही कारण मन्दीका बीच अर्थतन्त्रको मूल्यवृद्धि निकै उच्च छ । भारतले ६ वर्ष यताकै उच्च मूल्यवृद्धिको सामना गर्नु परिरहेको पनि छ । त्यसैले अन्तर्राष्ट्रिय लगानीकर्ताको लगानी आकर्षण यो अर्थतन्त्र र मुद्रामा रहन सकेन । लगानीको क्षेत्र सिफ्ट हुँदा पनि लगानीकर्ताको रोजाइमा भारत नपर्नु नै अहिलेको मुद्रा अवमूल्यनको प्रमुख कारण हो । यसैको शिकार बनेको हो नेपाली मुद्रा ।

कस्तो पर्छ अर्थतन्त्रमा असर ?

अहिले नेपाली मुद्राको अवमूल्यनको प्रभाव भने अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुवै पर्न सक्ने विज्ञहरुको भनाइ छ । यो अवमूल्यनपछि नेपालमा विदेशबाट आउने सामान महँगो हुँदै जान्छ । यसो गर्दा नेपाली निर्माण कम्पनी र आयोजनाको लागत बढ्नेछ । यो सबैभन्दा मुख्य समस्या हो ।

कोरोनाका कारण काममा ढिलाइ हुनु र विदेशी मुद्रा बढ्दा मेसिनरी सामानको आयात बढ्दै जानुको दोहोरो मारमा यी आयोजनाहरु परेका छन् । त्यस्तै, विभिन्न प्रयोजनका लागि विदेश जाने नेपालीको खर्च पनि अहिले भन्दा महँगो पर्छ ।

उता विदेशबाट नेपालमा पैसा पठाउँदा भने पहिले भन्दा फाइदा हुन्छ । यसले नेपाल भित्रिने रेमिट्यान्समा सकारात्मक असर पार्छ । उता नेपालमा आउने विदेशी नागरिकको नेपाल बसाइँ पहिलेभन्दा सस्तो पर्छ ।

विनिमय अस्थिरताको सकारात्मक र नकारात्मक दुवै प्रभाव हुने भए पनि नेपालको समग्र अर्थतन्त्रमा यसको प्रभाव ठूलो देखिँदैन । नेपाली मुद्राको मूल्य बढ्यो भने आयातकर्ताले राहत पाउने र घट्यो भने विदेश गएका कामदारले राहत पाउनाले समग्र अर्थतन्त्रमा यसको असर कम मात्रै हुने गरेको छ । यो विनिमय अस्थिरताले पनि नेपाली अर्थतन्त्र समस्यामै पर्नेगरी प्रभाव परिहाल्ने सम्भावना भने नरहेको विज्ञहरुको तर्क छ ।