ठगी गर्ने दुईजना पक्राउ अमेरिकाबाट सस्तोमा सामान पठाइदिने भन्दै

ठगी गर्ने दुईजना पक्राउ अमेरिकाबाट सस्तोमा सामान पठाइदिने भन्दै

काठमाडौं,मंसिर १७ : सामाजिक सञ्जालमा अमेरिकाबाट सस्तोमा सामान पठाइदिने भन्दै आएका विज्ञापनप्रति कतै तपाई आकर्षित भइरहनु भएको त छैन ? यदि त्यस्ता विज्ञापनप्रति आकर्षित भइरहनुभएको छ भने सावधान ! तपाईं ठगिन सक्नु हुन्छ !

प्रहरीले अनलाइनमार्फत ठगीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार सामाजिक सञ्जाल ‘ह्वाट्सएप’ मा अमेरिकाबाट आइफोन, ल्यापटप, क्यामरा, घडी, शृङ्गार लगायतका सामान सस्तोमा पठाइदिने भन्दै भारतीय मोबाइलबाट विज्ञापन गरी ठगी गरिरहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा, साँगाचोकगढी घर भइ हाल भक्तपुरको कौशलटार बस्दै आएका २२ वर्षीय अमिर थापा र भक्तपुर कमलविनायकका २४ वर्षीय अमन अवाल छन् ।

उनीहरुले एक महिनाको अवधिमा ८ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको पाइएको छ । प्रहरीले यस्ता विज्ञापनका आधारमा सामान मगाएर अमिर थापा र अमन अवालको खातामा रकम जम्मा गरी कोही ठगीएको भए महानगरीय अपराध महाशाखा, टेकुमा जानकारी दिन पनि आह्वान गरेको छ ।

यस्ता घटना दोहोरिन सक्ने भन्दै प्रहरीले समयमै सचेत र सजग हुन सबैलाई आग्रहसमेत गरेको छ ।