इन्टर शीर्षस्थानमा, युभेन्टस बराबरीमा

इन्टर शीर्षस्थानमा, युभेन्टस बराबरीमा

सोमवार, मंसिर १६ : इटालियन सिरी ए अन्तर्गत साविक विजेता युभेन्टस घरेलु मैदानमा सासुओलोसँग बराबरीमा रोकिएको छ । अर्को खेलमा इन्टरले एसपीएएललाई २-१ ले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लियो ।

घरेलु मैदानमा युभेन्टसले २० औं मिनेटमा अग्रता लिएको थियो । कप्तान लिओनार्डो बोनुचीको प्रहार डिफेन्सलाई लाग्दै गोलमा परिणत भएको थियो । तर सासुओलोका लागि जेरेमी बोगाले २ मिनेटपछि नै खेल बराबरीमा ल्याए । उनले अफसाइड ट्रयाप बिट गर्दै गोलरक्षकलाई चिप गरेका थिए ।

दोस्रो हाफको दोस्रो मिनेटमा फ्रान्सेस्को कापुटोको प्रहार गोलरक्षक जियानलुइजी बुफोनले फुत्काएपछि युभेन्टस पछि परेको थियो । खेलको २२ मिनेट बाँकी रहंदा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । सासुओलोका गोलरक्षक स्टेफानो तुरातीले खेल अवधिमा रोनाल्डोको फ्रिकिक तथा गोन्जालो हिगुआइन र आरोन राम्जीको प्रहार विफल पारेका थिए ।

अर्को खेलमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजले दुई गोल गरेपछि इन्टर मिलान अंक तालिकाको शीर्ष स्थानमा उक्लियो । खेलको १४ औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट मार्टिनेजले गोल गर्दै इन्टरलाई अगाडि बढाए । पहिलो हाफको ३ मिनेट बाँकी रहँदा मार्टिनेजले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा माटिया भलोतीले ५० औं मिनेटमा गोल गर्दै एसपीएएललाई खेलमा फर्काए । त्यस्तै गोलरक्षक एत्रित बेरिशाले पनि उत्कृष्ट बचाउ गर्दै मार्टिनेजको ह्याट्रिक पूरा हुन दिएनन् । पछिल्लो ३ खेलमा ५ गोल गरेका मार्टिनेजले इन्टरका लागि यस सिजन १२ गोल गरिसकेका छन् ।

यस नतिजासँगै इन्टर मिलानले १४ खेलमा १२ जित, १ बराबरी र १ हारसहित ३७ अंक जोडेको छ । यता अपराजित युभेन्ट्स भने १४ खेलमा ११ जित र ३ बराबरीसहित ३६ अंक जोड्दै दोस्रो स्थानमा झरेको छ ।