बार्सिलोना शीर्षस्थानमा एट्लेटिकोलाई हराउँदै

बार्सिलोना शीर्षस्थानमा एट्लेटिकोलाई हराउँदै

सोमवार, मंसिर १६ : चिर परिचित प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडमाथि जित दर्ता गर्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।

आइतबार एट्लेटिकोको घरेलु मैदानमा बार्सिलोना १-० ले विजयी रहयो ‌। खेलको ४ मिनेट समय बाँकी रहँदा कप्तान लियोनेल मेस्सीले गरेको गोल निर्णायक सावित भयो । उनले लुइस सुआरेजसँग खेलेको उत्कृष्ट वन-टु पासलाई सदुपयोग गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

खेल अवधिभर एट्लेटिको डिफेन्सले मेस्सीलाई रोकेपनि अन्त्यमा भने उनी गोल गर्न सफल रहे ‌। घरेलु टोलीका लागि जोआअो फेलिक्सले सुरुवाती समयमा गरेको प्रहारले गोलको दिशा लिन नसक्दा दवावलाई गोलमा परिणत गर्न चुकेको थियो । एट्लेटिकोले सुरुवाती समयमा आक्रमक प्रस्तुति गरेपनि बार्सिलोना डिफेन्सले राम्रो प्रदर्शन गर्यो ।

यस जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोना र रियल म्याड्रिडको समान अंक भएपनि गोलअन्तरको आधारमा बार्सिलोना अगाडि छ । दुवै टोलीले १४ खेलमा ३१ अंक जोडेका छन् ।  तेस्रो स्थानमा रहेको सेभिल्लाको १५ खेलमा ३० अंक रहेको छ ।

ला लिगाका अन्य खेलमा भ्यालेन्सियाले भिल्लारियललाई २–१ ले, सेभिल्लाले लेगानेसलाई १–० ले, एथ्लेटिक बिल्वाओले ग्रानडालाई २–० ले, ओसासुनाले इस्पान्योललाई ४–२ ले तथा गेटाफेले लेभान्टेलाई ४–० ले पराजित गरेको छ ।