पोर्चुगलको हार रोनाल्डोको ७००औं गोलमा

पोर्चुगलको हार रोनाल्डोको ७००औं गोलमा

मंगलबार, आश्विन २८ : आधुनिक फुटबलका हस्ती सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल करियरमा ७००औ गोल पुरा गरेको खेलमा पोर्चुगल पराजित भएको छ ।

युरोकप छनोट अन्तरगत सोमबार राति भएको खेलमा पोर्चुगल घरेलु टोलीसँग २–१ ले पराजित भएको हो । किभमा युक्रेनको जितमा रोमन यारेमचुक र एन्ड्री यामोलेन्कोले गोल गरे ।

पोर्चुगललाई पराजित गरेको युक्रेन भने समूह ‘बी’ बाट युरोकपमा छनोट हुन सफल भएको छ । युक्रेनले समूह ‘बी’ मा ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको पोर्चुगलको ६ खेलबाट ११ अंक रहेको छ । पोर्चुगललाई छनोट हुन अर्काे खेल नै कुर्नुपर्ने भएको छ ।

खेलको छैर्टा मिनेटमा नै रोमन यारेमचुकले गोल गर्दै घरेलु टोली युक्रेन खेलमा अघि बढेको थियो । उनले क्रिभसभको पासमा गोल गरेका थिए । २७औं मिनेटमा एन्ड्री यामोलेन्कोले भिटाली माइकोलेन्कोको पासमा गोल गरेपछि घरेलु टोली युक्रेन पहिलो हाफमा २–० ले अघि बढेको थियो ।

२–० ले पछि परेको पोर्चुगलले दोस्रो हाफमा सुधारिएको खेल पस्कदै घरेलु टोलीलाई दवावमा राख्दै एक गोल गर्न सफल भएपनि हार टार्न सकेन । ७२औै मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई खेलमा फर्काउने संकेत दिएपनि थप गोल निस्कन नसक्दा पोर्चुगल २–१ ले पराजित हुन पुग्यो ।

यो रोनाल्डाको खेल करियरको ७००औं गोल हो । उनले राष्ट्रिय टोलीबाट १६२ खेल खेल्दै ९५औं गोल पुरा गरे । उनले स्पेनिस क्लब रियाल म्याड्रिडबाट सबैभन्दा धेरै गोल गरेका छन् ।

टारस स्टेफानेकोले पेनाल्टी बक्समा विपक्षी खेलाडीमाथि अनावश्यक होल्ड गरेपछि रेफ्रीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड देखाएपछि घरेलु टोली युक्रेन १० खेलाडीमा समटिएको थियो ।

यही समूहको अर्काे खेलमा सर्वियाले लिथुनियालाई २–१ ले पराजित गरेको छ । जितसँगै सर्वियाले ७ खेलबाट १० अंक जोड्दै युरोकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ । लिथुनिया १ अंकसहति पुछारमा रहँदा लक्जेमवर्ग ४ अंकसहित चौथो स्थानमा छ ।