लिभरपुललाई पछ्याउदै सिटी

लिभरपुललाई पछ्याउदै सिटी

आइतवार, आश्विन १२ : इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले एभर्टनलाई उसैको मैदानमा ३–१ ले पराजित गरेको हो ।

सिटीलाई जिताउन ग्राबियल जेसस, रियाद महारेज र रहिम स्ट्रलिङले गोल गरे । घरेलु टोलीका डोमिनिक लेविनले एक गोल फर्काए । गुडिसन पार्कमा शनिबार राति भएको खेलको २४ औं मिनेटमा जिससको गोलबाट सिटीले शुरुवाती अग्रता लिएको थियो । ३३औं मिनेटमा लेविनले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा सिटीले थप दुई गोल गर्दै जित पक्का गरे । ७१ औं मिनेटमा महारेजले गोल गर्दै सिटीलाई खेलमा २–१ ल्े अघि बढाए । ८४औं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए ।

जितसँगै सिटीले लिग लिडर लिभरपुलसँगको अंक दुरी छोट्याएको छ । दोस्रो स्थानको सिटीको ७ खेलबाट १६ अंक रहेको छ । सिटी लिभरपुल भन्दा ५ अंकले पछि छ । अपराजित लिभरपुलको २१ अंक छ । एभर्टन ७ खेलमा ७ अंक जोडेर १५औं स्थानमा छ ।