स्टुरिज टर्कीतर्फ लिभरपुलका

स्टुरिज टर्कीतर्फ लिभरपुलका

बिहीबार, भाद्र ५ : इंग्लिस क्लब लिभरपुलबाट यसै सिजन रिलिज भएका फरवार्ड ड्यानियल स्टुरिज टर्किस क्लब ट्राबजोन्सपरमा अनुबन्धित भएका छन् ।

टर्किस सुपर लिग क्लब ट्राबजोन्सपरले २९ वर्षीय इंग्ल्यान्डका स्टुरिजलाई ३ वर्षका लागि अनुबन्ध गरेको हो । लिभरपुलले स्टुरिजलाई यसै समर ट्रान्सफरमा रिलिज गरिदिएको थियो । उनी करिब ६ बर्ष लिभरपुलका बिताएर प्रिमियर लिग क्लब छाडेका हुन् ।

लिभरपुलबाट रिलिज भएसँगै उनलाई विभिन्न १३ क्लबले अनुबन्धको चासो देखाएपनि उनले अस्वीकार गरेको थियो । मार्सेली, फ्रान्कफर्ट, रियल बेटिस, एटलान्टा, एस्टन भिल्ला र डिसी युनाइटेडले पनि स्टुरिजलाई अनुबन्ध गर्न चासो देखाएको थियो । तर, उनी टर्किस क्लबमा पुगेका हुन् ।

म्यानचेष्टर सिटी र चेल्सीबाट समेत खेलेका स्टुरिजले लिभरपुलका लागि १ सय ६० खेलमा ६७ गोल गरेका थिए । लगातार चोटसँग जुध्दै आएका स्टुरिजले गत सिजन लिभरपुलका लागि जम्मा पाँच खेलमा सुरुवाती अवसर पाएका थिए । स्टुरिजले अघिल्लो सिजन च्याम्पियन्स लिग जितेका थिए ।

६ पटकको टर्किस सुपर लिग च्याम्पियन ट्राबजोन्सपरले गत सिजन चौथो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो ।