विजयी सुरुवात एट्लेटिकोको

विजयी सुरुवात एट्लेटिकोको

सोमवार, भाद्र २ : स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले ला लिगामा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा एट्लेटिकोले गेटाफेलाई १-० ले पराजित गर्यो ।

स्पेनिस फरवार्ड अल्भारो मोराटाले खेलको एकमात्र गोल गरे । उनले २३ अौं मिनेटमा काइरान ट्रिपिएरको क्रसलाई सदुपयोग गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ट्रिपिएर यसै सिजन टोटेनहमबाट म्याड्रिड पुगेका हुन् ।

पहिलो हाफमा नै दुवै टोली १० खेलाडीमा सिमित भएका थिए । गेटाफेका जोर्गे मोलिनाले ३८ अौं मिनेटमा रातो कार्ड पाए । त्यसको केहि बेरमा नै रेनान लोडीले १ मिनेटको अन्तरमा दुई पहेंलो कार्ड पाएका थिए ।

खेलको ५५ अौं मिनेटमा जोआअो फेलिक्सले खेलको मध्य भागबाट उत्कृष्ट बल नियन्त्रण बनाउँदै बढाएको मुभ पेनाल्टी क्षेत्रभित्र पुगेपछि उनलाई लडाउँदा एट्लेटिकोले पेनाल्टी पाएको थियो । तर मोराटाले प्रहार गरेको पेनाल्टी गेटाफेका गोलरक्षक सोरियाले रोकिदिए ।

लिगको पहिलो खेलमा साविक विजेता बार्सिलोना पराजित हुँदा उपाधि दावेदार मानिएका दुई म्याड्रिड टोलीले विजयी सुरुवात गरेका छन् ।