अप्रत्यासित हार पीएसजीको

अप्रत्यासित हार पीएसजीको

सोमवार, भाद्र २: साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा अप्रत्यासित हार बेहोरेको छ । आइतबार राति भएको खेलमा पीएसजीले रेनिससँग २–१ को अप्रत्यासित हार बेहोरेको हो ।

पीएसजीले शुरुवाती अग्रता जोगाउन नसक्दा लिग वानको दोस्रो चरणमा हार बेहोरेको हो । पीएसजीलाई स्तबध् बनाउन एम बाय नियाङ र रोमेन डेल क्यास्टिलोले गोल गरे । पीएसजीका एडिन्सन काभानीले गोल गरे ।

पाहुना टोलीका लागि एडिन्सन काभानीको गोलबाट पीएसजी खेलमा अघि बढेको थियो । काभानीले खेलको ३६औं मिनेटमा गोल गरेका थिए । ४४औं मिनेटमा एमबायले घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफको शुरुमै रोमेन डेल क्यास्टिलोले गोल गरेपछि रेनिस खेलमा २–१ ले अघि बढेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजीले अप्रत्यासित हार बेहोर्न पुग्यो ।

अग्रपङ्तिमा केलियन एमबाप्पे, एन्जल डि मारिया र काभानी रहेपनि पीएसजीले जित निकाल्न सकेन । पीएसजीले रेनिसविरुद्ध पनि आफ्ना स्टार फरवार्ड नेयमारलाई टोलीमा समेटको थिएन । नेयमार पीएसजी छाड्दै बार्सिलोना वा रियाल म्याड्रिड आउने हल्ला छ । तर, उनी शुक्रबारदेखि पीएसजीको प्रशिक्षणमा सामेल भएका छन्।