मेस्सी के गर्दैछन् ?

मेस्सी के गर्दैछन् ?

आइतवार, भाद्र १: स्पेनिस ला लिगाको नयाँ सिजन सुरु भइसकेको छ । । साविक विजेता बार्सिलोनाले एथलेटिको बिलबाओको सामना गर्दा हार बेहोरेको थियो । ला लिगाकै प्रभावशाली खेलाडी मध्येका बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी भने पहिलो दिन मैदानमा देखिएनन् ।

उनलाई लिएर प्रशिक्षक इर्नेस्टो भाल्भार्डे जोखिम लिने पक्षमा छैनन् । चोटमुक्त भएर फर्कने क्रममा रहेको मेस्सी फिटनेसका लागि जुटेका छन् । अर्जेन्टिनी सुपर स्टारले बालुवामा कोन राखेर बल राखेर शुटको अभ्यास गरेका छन् । उनले बालुवामा अन्य अभ्यास पनि गरेका छन् । पिडौलामा समस्या आएपछि उनले प्रि सिजनका कुनै पनि खेलमा भाग लिएनन् ।

३२ वर्षे मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिकामा तेस्रो स्थान प्राप्त गरेको थियो । जसमा उनले टोलीका सबै खेल खेलेका थिए । बार्सिलोनाले नेपोलीलाई मैत्रीपूर्ण खेलमा ४–० ले हराएपछि भाल्भार्डेले भनेका थिए, ‘मेस्सी विदामा हुन्थे भने म खुसी हुन्थे । तर उनी घाइते छन् । ‘

लगातार तेस्रो पटक ला लिगा उपाधि जित्ने अभियान रहने बार्सिलोनाका लागि मेस्सी नहुनु चिन्ताको विषय पक्कै पनि हो ।