युभेन्टस पराजित युवा सनसनी फेलिक्सको दुई गोलसँगै

युभेन्टस पराजित युवा सनसनी फेलिक्सको दुई गोलसँगै

आइतवार, श्रावण २६: पोर्चुगिज युवा सनसनी फरवार्ड जोओ फेलिक्सले दुई गोल गरेपछि इन्टरनेसनल च्याम्पियन्स कपमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले अर्का सुपरस्टार क्रिस्टियानो रोनाल्डोसम्मिलित इटालियन क्लब युभेन्टसलाई पराजित गरेको छ ।

शनिबार राति स्वीडेनस्थित फ्रेन्डस् एरिना सोल्नामा भएको खेलमा एट्लेटिकोले युभेन्टसलाई २–१ ले पराजित गरेको हो ।

खेलको २४औं मिनेटमा म्याड्रिड फेलिक्सको गोलबाट अघि बढेको थियो । २९औं मिनेटमा सामी खेडिराले बराबरी गोल फर्काए । तर, ३३औं मिनेटमा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई खेलमा २–१ ले अघि बढाए ।

त्यसपछि थप गोल निस्कन नसक्दा एट्लेटिको २–१ ले विजयी हुन सफल भयो । यसै सिजन पोर्चुगिज क्लब बेन्फिकाबाट ११३ मिलियन पाउन्डमा एट्लेटिको म्याड्रिड पुगेका फेलिक्सले सुरुवातमै क्लबमा उच्च प्रदर्शन गर्दै प्रभाव जमाउने संकेत दिएका छन् ।