रेड कार्ड पाएक मेस्सीले मेडल लिन अस्विकार

रेड कार्ड पाएक मेस्सीले मेडल लिन अस्विकार

२२ असार: अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले कोपा अमेरिका २०१९ को तेस्रो स्थानको मेडल लिन अस्विकार गरेका छन् ।

अर्जेन्टिनाले शनिबार राती भएको तेस्रो स्थानको खेलमा चिलीलाई २-१ ले पराजित गरेको थियो । खेलको ३७ औं मिनेटमा रेफ्रीले कप्तान मेस्सीसँगै चिलीका मिडफिल्डर ग्यारी मेडेललाई पनि रातो कार्ड देखाएका थिए । खेलपछि अर्जेन्टिनाका सबै खेलाडी मेडल लिनका लागि आउँदा मेस्सी भने उपस्थित रहेनन् ।

पत्रकार सम्मेलनमा बोल्दै मेस्सीले भ्रष्टचारको साथ नदिन आफूले मेडल नलिएको धारणा व्यक्त गरे । ‘ मैले मेडल लिईन किनभने हामीलाई भ्रष्टचारको साथ दिनु छैन । यो समग्र कोपाकै बेइज्जत गरेजस्तो लागेको छ,’ उनले भने ।

मेस्सीले आफूलाई रातो कार्ड दिएको विषयमा पनि रेफ्रीमाथि आक्रोशित देखिए । ‘ दुवै खेलाडीलाई अधिकतम पहेंलो कार्ड हुनुपर्ने अवस्था थियो । भिडियो रेफ्रीको सहायता पनि लिइएन । तर मैले पछिल्लो खेलपछि रेफ्रीको बारेमा बोलेको कारण मलाई रातो कार्ड दिइएको होला,’ उनले थपे, ‘ हाम्रो टोलीले अन्तिम खेलमा राम्रो प्रदर्शन गर्यौं । अब यो प्रतियोगितामा भएका सबै कुरा बिर्सेर अगाडी बढ्नुपर्छ । म आफ्नो टोलीले देखाएको मिहिनेतलाई लिएर एकदम खुसी छु । सुरुवात खराब भएपनि हामीले अन्त्य राम्रो गर्यौं ।’

मेस्सीले पेरु र ब्राजिलबीच हुने फाइनल खेलमा पनि रेफ्रीको भूमिकालाई लिएर शंका व्यक्त गरे । ‘आशा गरौँ रेफ्री र भीएआरले पेरुलाई खुलेर खेल्ने अवसर दिनेछन् । म त्यो सहज हुने देख्दिन । म सधैं साँचो बोल्छु र त्यसले मलाई संयमित बनाउँछ । त्यसले मलाई केहि असर गर्छ भनेपनि झेल्न तयार छु ,’ उनले टुंग्याए ।