पूँजी बजारले राम्रोसँग काम नगरे हस्तक्षेप गर्ने अर्थमन्त्रीको चेतावनी

पूँजी बजारले राम्रोसँग काम नगरे हस्तक्षेप गर्ने अर्थमन्त्रीको चेतावनी

काठमाडौँ,मंगलबार, अषाढ १७ :अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताएका छन् ।

अर्थमन्त्री खतिवडाले पूँजी बजार सञ्चालनमा सरकारले रोकावट नगरेपनि त्यसले राम्रोसँग काम नगरे कडा निगरानी राख्ने पनि स्पष्ट परे ।

मङ्गलबारबाट काठमाडौँमा सुरु भएको वित्तीय साक्षरतासम्बन्धि वृहत अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले नेपालमा पनि पूँजी बजारले राम्रोसँग काम नगरेकाले नियमनकारी निकायलाई निगरानी गर्नुपरेको पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले नेपालमा रेमिट्यान्सको पूँजी परिचालन गर्नेहरुलाई वित्तीय साक्षर बनाउनुपर्नेमा पनि जोड दिए ।

५० लाखभन्दा बढि युवाहरु वैदेशिक रोजगारीमा गएका कारण उनीहरुका परिवारका सदस्यले वित्तीय कारोबार गरेपनि उनीहरुलाई सुरक्षित र भरपर्दो बैंक तथा वित्तीय संस्थाहरुको बारेमा समेत जानकारी नभएको अर्थमन्त्री खतिवडाको भनाई छ ।

उनले महिलाहरु पनि वित्तीय कारोवारमा सङ्लग्न हुने क्रम बढेकाले उनीहरुलाई साक्षर बनाउने काममा पनि लगानी गर्नुपर्नेमा जोड दिए ।

अर्थमन्त्री खतिवडाले बैङ्क तथा वित्तीय संस्थालाई भरपर्दो प्रविधिको प्रयोग गर्न पनि सचेत गराए ।

नेपाल धितो पत्र बोर्ड र ओईसिडीले वित्तीय साक्षरता बढाउने उद्देश्यका साथ सो दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा भारत, अमेरिका, सिंगापुर, थाईल्याण्ड, दक्षिण अफ्रिका, चीन, अष्ट्रेलिया, भुटानसहितका पूँजी बजारका विज्ञहरु, लगानीकर्ताहरु सहभागी भएका छन् ।