गोल्डेन बुटका ५ दाबेदार कोपा अमेरिका २०१९ अन्तर्गत

गोल्डेन बुटका ५ दाबेदार कोपा अमेरिका २०१९ अन्तर्गत

मंगलबार, अषाढ १७ : कोपा अमेरिका २०१९ अन्तर्गत अब सेमिफाइनलका दुई खेल र फाइनल मात्र बाँकी छन् । १२ सहभागी टोलीबाट सुरु भएको प्रतिस्पर्धामा अब ४ टोलीमात्र बाँकी छन् ।

प्रतियोगितामा यसपटक २२ खेलमा ४८ गोल सम्भव भएका छन् । यसक्रममा उपाधि भिडन्तमा रहेका टोलीहरुकै खेलाडीले सर्वाधिक गोल गर्ने सुचिमा दबदबा बनाउने सम्भावना रहेको छ । प्रस्तुत छ गोल्डेन बुटका लागि प्रतिस्पर्धा गरिरहेका ५ खेलाडी :

एडुआर्डो भार्गास – चिली (२ गोल)

२९ वर्षीय भार्गासले सन् २००९ देखि चिलीको राष्ट्रिय टोलीका लागि खेल्दै ८५ खेलमा ३८ गोल गरेका छन् । उनी पछिल्लो संस्करणमा गोल्डेन बुट समेत जित्न सफल भएका थिए । यस प्रतियोगितामा भार्गासले जापान र पेरुविरुद्ध १-१ गोल गरेका छन् ।

एभरटन सोआरेस – ब्राजिल (२ गोल)

ब्राजिलको सिनियर टोलीमा यसै वर्ष परेका एभरटनले नेयमारको स्थान लिएका हुन् । उनले प्रतियोगिताको सुरुवाती दुई खेलमा वैकल्पिक खेलाडीको रुपमा प्रभाव जमाए । प्रतियोगितामा २ गोल गरेका उनले १ असिस्ट पनि दिएका छन् । उनको उत्कृष्ट प्रदर्शनले युरोपका ठूला टोलीले उनलाई अनुबन्धन गर्ने प्रयास थालेका छन् ।

फिलिपे कोउटिन्हो – ब्राजिल (२ गोल)

www.nepalhalkhabar.com

गत सिजन बार्सिलोनाको लागि उल्लेख्य प्रदर्शन गर्न नसकेका कोउटिन्होले ब्राजिलका लागि भने उच्च प्रदर्शन गरेका छन् । नेयमार टोलीमा नहुँदा उनले आक्रमणमा जिम्मेवारी वहाँ गरेका छन् । ब्राजिललाई सेमिफाइनलसम्म पुर्याउन कोउटिन्होले २ गोल र १ असिस्ट प्रदान गर्दै प्रभावशाली प्रदर्शन गरेका छन् ।

लौटारो मार्टिनेज – अर्जेन्टिना (२ गोल)

www.nepalhalkhabar.com

लिओनेल मेस्सी, सर्जियो अगुएरो र एन्जल डी मारिया जस्ता नाम चलेका खेलाडी भएको अर्जेन्टिनी टोलीमा मार्टिनेजले प्रभाव जमेका छन् । इन्टर मिलानबाट व्यावसायिक फुटबल खेल्दै आएका उनले अर्जेन्टिनाको जितमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । उनले प्रतियोगितामा २ गोल गर्नुका साथै मेस्सीले प्रहार गरेको एकमात्र पेनाल्टी गोलमा पनि सम्मिलित रहेका थिए ।

एलेक्सिस सान्चेज – चिली (२ गोल)

www.nepalhalkhabar.com

क्लब स्तरमा गत सिजन म्यानचेस्टर युनाइटेडका लागि बिर्सनलायक प्रदर्शन गरेका सान्चेज चिलीका लागि भने बिल्कुल फरक खेलाडीको रुपमा देखिएका छन् । चिलीलाई लगातार तेस्रो उपाधि दिलाउने धुनमा रहेका सान्चेजले २ गोल र १ असिस्ट गर्दै गोल्डेन बुटको दाबेदारको रुपमा पनि आफूलाई उभ्याएका छन् ।