गण्डकी प्रदेशको बैठक स्थगित विपक्षीले अवरोध गर्ने थाहा पाएपछि

गण्डकी प्रदेशको बैठक स्थगित विपक्षीले अवरोध गर्ने थाहा पाएपछि

काठमाडौं ,असार ६: पोखरा– प्रमुख विपक्षी दल काँग्रेसले बैठक अवरुद्ध गर्ने थाहा पाएपछि बैठक नै नबसि सूचना टाँसेर  शुक्रबारको गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ । शुक्रबारको बैठकमा विनियोजन विधेयकमाथि छलफलमा गर्ने कार्यक्रम रहेको थियो । तर, काँग्रेसले अवरोध गर्ने भएपछि आइतबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।

बैठक स्थगित भएपछि विपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरुलाई संसदमा बोल्न नदिएको भन्दै गुनासो पोखे । ‘संसदमा विपक्षी दलका नेतालाई आफ्ना कुरा राख्न दिइएन,’ उनले भने, ‘यो न्यायपूर्ण भएन ।’ संसदमा विपक्षीलाई बैठक स्थगित गर्नुका कारण राख्न दिनुपर्ने उनको धारणा छ । बैठक बसे पनि यता काँग्रेस भने पहिले नै बैठक अवरुद्ध गर्ने तयारीमा थियो ।  सरकारले ल्याएको बजेट पुस्तिका नै त्रुटिपूर्ण रहेको र सच्याउनुपर्ने लगायतका माग राख्दै कांग्रेस बैठक अवरुद्ध गर्ने तयारीमा थियो ।

‘गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको ‘रेडबुक’ नै त्रुटिपूर्ण छ,’ नेता नेपालीले भने, ‘यस्का त्रुटिहरु रहेको र कार्य व्यवस्था समितिमा सच्याउन माग राख्दा बैठक नै स्थगित गरियो ।’ ‘रेडबुक’ संवैधानिक, कानुनी र व्यवहारिक रुपले त्रुटिपूर्ण रहेको उनको धारणा छ । सांसदका भावना पनि समेट्न नसकेको उनको भनाई छ । ‘करेक्सन नगरे संसद अबरुद्ध गर्छौं भनेका थियौं । तर सभामुखले हाउसमा कुरा राख्ने मौका दिनु भएन,’ उनले भने ।

कुनै पनि देश वा प्रदेशको बजेट विनियोजन हुँदा सबैलाई समानता हुनुपर्ने नेपालीको भनाइ थियो । ‘बजेट विनियोजन हुँदा सबैलाई समान हुनुपर्छ,’ उनले भने, ‘कुनै ठाउँमा आवश्यक योजनामा पनि बजेट नै परेका छैनन्, कुनै ठाउँमा विभिन्न शीर्षकमा ‘डुब्लिकेसन’ भएका छन् । यसमा पनि समानता ल्याउनुपर्छ ।’ अत्यावश्यक चिजमा बजेट विनियोजन नगरि सरकारले प्रतिबद्धताभन्दा बाहिर पर्ने सभा, समारोह, गोष्ठी लगायतका शिर्षकमा थुप्रै बजेट विनियोजन गरेको उनले आरोप लगाए ।

सरकारले बजेट विनियोजन गर्दा गल्ती गरेको तर स्वीकार्न नचाहेको नेपालीको आरोप छ । लोकतन्त्रमा गल्ती भए त्यसलाई स्वीकारेर सच्याएर अघि जानु पर्ने उनको तर्क छ । ‘गल्ती हुन्छ । तर पनि पेलेर अघि बढ्ने होइन,’ उनले भने । विनियोजन विधेयकका त्रुटिलाई वार्तामा बसेर सहमति गर्न तयार रहेको उनले सुनाए ।