रामेछापमा भीरबाट बस खस्दा २ जनाको मृत्यु, २० घाइते

रामेछापमा भीरबाट बस खस्दा २ जनाको मृत्यु, २० घाइते

काठमाडौं जेठ ३१ : काठमाडौंबाट चिकित्सक टोलीसमेत लिएर रामेछापको दोरम्बा गाउँपालिका ६ लखनपुर जाँदै गरेको बस भीरबाट खस्दा २ जनाको मृत्यु भएको छ। २० जना घाइते भएका छन्। तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बिहीबार साँझ भएको दुर्घटनामा रामेछाप दोरम्बा गाउँपालिका ६ लखनपुरका उद्धव गौतम र हरिबहादुर कार्कीको मृत्यु भएको हो। दुवै जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार काठमाडौंबाट यात्रु बोकेर लखनपुरको रिठ्ठे जाँदै गरेको अरनिको कोसीपारि यातायातको बा २ ख ७२४२ नम्बरको बस लखनपुरको बराको रुख घुम्तीबाट करिब २ सय मिटर तल खसेको हो।

दुर्घटनामा लखनपुरकी स्वास्थ्य स्वयंसेविका कमला गौतम, तीर्थप्रसाद गौतम, गंगा गौतम र गंगाप्रसाद चौलागाई लगायत गम्भिर घाइतेलाई एम्बुलेन्स र अनरिको यातायातकै अर्को बसमार्फत धुलिखेल अस्पतालतर्फ पठाइएको थियो।

उक्त बसमा शुक्रबार कालिका मावि लखनपुरमा सुरु हुने दन्त शिविरका लागि केही चिकित्सक पनि थिए। दुर्घटनामा परेको बसका चालक फरार छन्।