शीर्षस्थानको उरुग्वेलाई पछ्याउँदै ब्राजिल र अर्जेन्टिना : कोपा अमेरिका

शीर्षस्थानको उरुग्वेलाई पछ्याउँदै ब्राजिल र अर्जेन्टिना : कोपा अमेरिका

बुधबार, जेष्ठ २९: कोपा अमेरिका दक्षिण अमेरिकी राष्ट्रहरुले खेल्ने महादेशीय प्रतियोगिता हो । यस प्रतियोगिताको ४६ औं संस्करण शुक्रबारदेखि ब्राजिलमा सुरु हुँदैछ । 

हालसम्म सम्पन्न ४५ संस्करणमध्य उरुग्वेले सर्वाधिक १५ पटक उपाधि हात पार्दै सर्वाधिक सफल टोलीको रुपमा आफूलाई उभ्याएको छ । सन् १९१६ मा सुरु भएको प्रतियोगिताको पहिलो संस्करण अर्जेन्टिनामा आयोजना गरिएको थियो । उक्त प्रतियोगिताको फाइनलमा उरुग्वेले घरेलु टोलीलाई स्तब्ध पार्दै उपाधि जित्यो । उरुग्वेले लगातार दुई पटक उपाधि जित्दा ब्राजिलले तेस्रो तथा अर्जेन्टिनाले पाँचौ संस्करणमा उपाधिको खाता खोले ।

सर्वाधिक उपाधि जित्ने सुचिमा अर्जेन्टिनाले उरुग्वेलाई कडा चुनौती दिइरहेको छ । अर्जेन्टिना १४ उपाधि जित्दै उरुग्वेभन्दा १ उपाधिले पछाडी परेको छ । यसपटक अर्जेन्टिनाले उपाधि संख्या बराबर गर्ने लक्ष्य राख्नेछ । तेस्रो स्थानको ब्राजिलले ८ पटक उपाधि जितेको छ । पाराग्वे, चिली र पेरुले २-२ पटक उपाधि जितेका छन् भने कोलम्बिया र बोलिभियाले १-१ पटक उपाधि सफलता प्राप्त गरेका छन् ।

चिलीले सन् २०१५ र २०१६ मा आयोजित पछिल्लो दुवै संस्करणमा अर्जेन्टिनालाई टाइब्रेकरमा पराजित गर्दै उपाधि उचालेको हो । सामान्यतया ४-४ वर्षको अन्तरालमा हुने यस प्रतियोगिताको सन् २०१६ संस्करण भने कोपा अमेरिका सुरु भएको शतवार्षिकी मनाउन आयोजना गरिएको थियो ।

अर्जेन्टिनाले सन् १९९३ यता कोपा अमेरिका उपाधि जित्न सकेको छैन । त्यसयता ब्राजिलले ४ पटक, उरुग्वे र चिलीले २-२ तथा कोलोम्बियाले १ पटक उपाधि जिते । पछिल्लो ५ संस्करणमा अर्जेन्टिना ४ पटक फाइनलमा पराजित भएको छ । त्यसमध्ये २ पटक चिली र २ पटक ब्राजिल फाइनलमा बाधक बनेका थिए ।