माइतीघर प्रदर्शनमा प्रहरीको मुख क्षतविक्षत हुनेगरी हान्ने काम भएको छ: गृहमन्त्री

माइतीघर प्रदर्शनमा प्रहरीको मुख क्षतविक्षत हुनेगरी हान्ने काम भएको छ: गृहमन्त्री

काठमाडौं जेठ २८ : गृहमन्त्री रामबहादुर थापाले गुठी विधेयकको विरोध गर्ने क्रममा प्रदर्शनकारीले माइतीघरमा प्रहरीको मुख क्षतविक्षत हुनेगरी बल प्रयोग गरेको दाबी गरेका छन्।

घटनाबारे संसदलाई जानकारी गराउँदै मंगलबार उनले सरकार लोकतन्त्रको रक्षा गर्न पूर्ण प्रतिबद्ध रहेको र नियमविपरित टाउकैमा प्रहार गरियो भन्ने विषय गलत भएको उल्लेख गरे।

‘प्रदर्शनकारीबाट बल प्रयोग भएको छ। प्रहरी घाइते भएका छन्। शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाइन्छ तर प्रहरीलाई सुरक्षाकर्मीलाई ढुंगा हान्ने, इँटा हान्ने उनीहरुको मुखलाई क्षतविक्षत गर्ने अधिकारलाई हामी लोकतान्त्रिक अधिकार भन्दैनौं’, गृहमन्त्री थापाले भने, ‘त्यस्ता घटना पनि भएका छन्। ती कुराहरुमा छानबिन हुनुपर्छ, राज्यले आवश्यक छानबिन गर्नेछ। दोषीमाथि आवश्यक कारवाही हुनेछ।’ कति प्रहरीको मुख क्षतविक्षत पारिएको एवं कति जना प्रहरी घाइते भएको उनले उल्लेख गरेनन्।

माइतीघर घटनाबारे सरकारले नैतिक जिम्मेवारी लिने उनले बताए। त्यहाँ भएका कमी कमजोरीबारे छानबिन भइरहेको उनले जानकारी दिए। ‘शान्तिपूर्ण प्रदर्शन गर्न नपाउने हो कि भन्ने प्रश्न उठेको छ तर तथ्यहरुले ती कुरालाई सावित गर्दैन। दिनदिनै विरोध प्रदर्शन भइरहेका छन्। ती विरोधलाई दमन गर्ने, रोक्ने काम भएको छैन’, उनले भने, ‘नियमभन्दा विपरित गयो, दमन भयो, टाउकैमा प्रहार भयो, बढी बल प्रयोग भएको भन्ने कुरा आएको छ। तथ्यले यस्तो देखाउँदैन।’

जेठ २६ गते गुठीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकविरुद्ध माइतीघरमा प्रदर्शन भएको थियो। उक्त विरोध कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका प्राचीन गुठीका गुठियारहरुको सहभागिता थियो। प्रहरीले प्रदर्शनकारीलाई हटाउन पानीको फोहरा, लाठीचार्जसहितको बल प्रयोग गरेको थियो। प्रहरीसँगको झडपमा परी केही प्रदर्शनकारी घाइते समेत भएका थिए।

नागरिकको ज्यान जोगाउन टिपर नियन्त्रण
गृहमन्त्री थापाले जनताको ज्यान जोगाउन टिपर आतंक नियन्त्रण गरिएको बताए। ‘टिपरका कारण धेरै नागरिकले ज्यान गुमाएका छन्। जनताको सुरक्षा गर्न टिपरलाई निश्चित समयमा चल्ने नियम बनाएर नियन्त्रण गरिएको हो’, उनले भने, ‘विकास निर्माणको काम अवरुद्ध नहोस् भन्नका लागि सीमित समयमा चल्ने अनुमति दिइएको छ।’