अमेरिकी राजदूतको चलखेल बढेको भन्दै संसदमा भीम रावलको कडा आपत्ति

अमेरिकी राजदूतको चलखेल बढेको भन्दै संसदमा भीम रावलको कडा आपत्ति

काठमाडौं,जेठ २०, २०७६:सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले अमेरिकी राजदूत र्याण्डी बेरीका कूटनीतिक मर्यादा विपरितका गतिविधि रोक्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
नेता रावलले बजेटमा राष्ट्रिय स्वाभिमानमा जोड दिएपछि व्यवहारमा सरकारले सोहीअनुसार काम गरेर देखाउन नसकेको पनि स्पष्ट पारे ।

प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले भियना अभिसन्धि विपरित अमेरिकी राजदूत बेरीले सो कार्यक्रम सञ्चालन गर्दा पनि किन नियन्त्रण गर्न नसकेको ? भनि सरकारलाई प्रश्न पनि पारे ।

नेता रावलले सरकारले देश प्रेममा सघाउ पुर्याउने गरी पाठ्यक्रम निर्माण गर्ने व्यवस्था गरेपनि व्यवहारमा त्यस विपरित कोरियाली विवादास्पद विश्वविद्यालयलाई प्राथमिकता दिएकोमा आपत्ति जनाए । केही दिनअघि कोरियाको काङनाङ विद्यालयले त्रिभुवन विश्वविद्यालयसँग ५ वर्षका लागि शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सम्झौता गरेको थियो । त्यसप्रति नेता रावलको आपत्ति छ । सो विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि पनि प्रदान गरेको थियो ।

नेता रावलले बजेटमा उल्लेख गरिएका राम्रा कामलाई कार्यान्वयनमा लैजान जोड दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।