बच्चालाई कुटपिटले झन् क्रुर बनाउँछ

छ छोरी जन्माएपछि महिला घर निकाला

२०७६ जेठ १३ गते : सामाजिक सञ्जालमा केही भिडियो देखिन्छ, जहाँ साना बच्चालाई विद्यालयमा यातना दिइएको । घरमै पनि बच्चामाथि कुटपिट गरेको भिडियो बेलाबखत भाइरल बन्ने गर्छ । यस्तो भिडियो देख्दा तपाईंको आङ सिरिङ्ग हुने मात्र होइन, रिसको पारो पनि चढ्छ ।

बच्चा अवोध हुन्छन् । उनीहरु जानेर गल्ती गर्दैनन् । नजानेरै कतिपय कमजोरी गर्छन् । त्यस्ता कमजोरी सच्याउनका लागि उनलाई निर्मतासाथ कुट्नैपर्छ ?

बच्चालाई प्रेमको भाषा

कुटेर बच्चाको बानी सुधार हुने हो भने ज्ञानगुणको कुरा किन चाहियो ? जतिपनि कुटे भइहाल्थ्यो । भनिन्छ नि, बच्चाले प्रेमको भाषा बुझ्छन् । उनीहरुलाई प्रेमपूर्वक नै सम्झनुपर्छ । प्रेमपूर्वक नै बुझाउनुपर्छ । प्रेममा उनीहरु पग्लिन्छन् ।

जबकी कुटपिटले उनीहरुलाई थप कठोर बनाउँछ । कठोरताले आक्रमक बनाउँछ । आक्रमकले क्रुर बनाउँछ । क्रुरताले अपराधी बनाउँछ ।

यसर्थ बालबच्चालाई कुट्नु भनेको अपराधी बनाउनु हो । इमान्दार, नैतिकवान्, चरित्रवान्, संस्कारी बनाउनका लागि त उनीहरुलाई प्रेममय वातावरण नै दिनुपर्छ । प्रेममय वातावरणमा नै उनीहरुले जीवनका अनेक आयमलाई बुझ्न र ग्रहण गर्न सक्छन् ।

संभवत बाल मनोविज्ञानको यही पाटोलाई बुझेर अहिले उनीहरुमाथि कुटपिट गर्न निषेध छ । विगतमा भने बालबच्चालाई कुटेर तह लगाउनुपर्छ भन्ने मानसिकता थियो । नजानेरै गर्ने कतिपय गल्तीमा बच्चाले अपराधी झै कुटाइ खानुपर्ने हुन्थ्यो ।

विद्यालय कि यातनागृह ?

विद्यालयकै कुरा गरौ । बालबालिकाले चकचक गरेमा उनलाई सम्झाउनुको साटो कुटेर तसाईन्छ ।  बालबालिकालाई अनुशासनको नाममा कडाइ गरिन्छ  हल्ला गरेमा, साथीसँग चलेमा, उफ्रिएमा यातनाको भागिदार बन्नुपर्छ । यहाँसम्म त ठिकै होला । तर, जब बालबालिकाले कुनैपनि प्रश्नको ठिक ढंगले हल गर्न सक्दैनन्, तब उनीहरुलाई यातना दिइन्छ । सोधेका प्रश्नहरुको सही उत्तर नदिएमा यातना दिइन्छ ।

पछिल्लो समय भने खुलमखुला यस किसिमको यातना दिन पाइदैन । तर, भित्र-भित्रै भने शिक्षकहरुले बालबालिकालाई कुटपिट गरिरहेको हुन्छन् । कतिपय बालबालिका विद्यालय जान नमान्नुमा शिक्षकले दिने सजायकै भय हो । सजायबाट बच्नका लागि उनीहरु विद्यालयबाट नै भाग्न खोज्छन् ।

बालबालिकालाई सम्झाउनु, बुझाउनु, फकाउनु, फुल्याउनुको साटो कुटपिट गरेर तर्साउने गरिन्छ । यसले बाल मनोविज्ञानमा कति भयानक असर पर्छ भन्ने कुरामा सायदै शिक्षक सचेत होलान् ।

भावनात्मक यातना

बालबालिकालाई सजायको नाममा कुटपिट गर्न पाइदैन । कुटपिट नगरी बच्चालाई कसरी पढाईमा लगाउने ? कसरी अनुशासित बनाउने ? कसरी सभ्य बनाउने ? संभवत यसबारे भने शिक्षकहरुलाई बुझाइएको छैन । त्यसैले उनीहरु बच्चालाई खुलमखुला कुटपिट त गर्दैनन्, तर भावनात्मक यातना दिन्छन् ।

के हो त भावनात्मक यातना ? कसरी दिइन्छ ?

बालबालिकाले विद्यालयमा भावनात्मक यातना खेपिरहेका हुनसक्छन् । तर, यसलाई उनीहरु खुलेर व्यक्त गर्न सक्दैनन् । वा आफुमाथि के भइरहेको भन्ने कुरा प्रष्टसँग भन्न सक्दैनन् । न यो कुरा सहपाठीले देख्छन्, न अभिभावकले नै ।

तर, कुटपिट गरेर बालबालिकालाई जसरी तसाईन्छ ठिक यसैगरी भावनात्मक यातना दिएर बालबालिकालाई हतोत्साही बनाइन्छ । भयभित बनाइन्छ । खासगरी पढाईमा कमजोर बच्चामाथि शिक्षकले यस किसिमको यातना दिन सक्छन् ।

जस्तो तपाईंको बच्चा कमजोर छन् । यस्ता बच्चाप्रति शिक्षकको खास लगाव हुँदैन । उनीहरु त कक्षाकोठामा तिनै बच्चामाथि लगाव राख्छन्, जो फटाफट प्रश्नको उत्तर लेख्न र भन्न सक्छन् । पढाईमा तगडा हुन्छन् । सक्रिय हुन्छन् ।

कमजोर विद्यार्थीप्रति भने शिक्षक त्यती सन्तुष्ट हुँदैनन् । उनीहरुले कतिपय प्रश्नको हल गर्न सक्दैनन् । कतिपय कुरा बुझ्दैनन् । पटक-पटक पढाउँदो पनि ग्रहण गर्दैनन् । होमवर्क सही ढंगले गरेर ल्याउँदैनन् । यस्ता बालबालिकामाथि शिक्षकहरु रुष्ट हुन्छन् । जबकी ति बालबालिकालाई खुलेर यातना दिन पनि सक्दैनन् । अन्ततः उनीहरुले त्यस्ता बालकालिकालाई बेवास्ता गर्ने, हेला गर्ने गर्छन् । ति बालकालिकाले सोधेको कुरामा पनि खास वास्ता नगर्ने । ति बालकालिकाको नबुझेको कुरामा खास मतलब नगर्ने ।

यस्ता बालबालिकासँग शिक्षकहरु राम्ररी घुलमिल भएर मित्रवत् व्यवहार पनि गरिरहेका हुँदैनन् । शिक्षकको यस किसिमको व्यवहारले ति बालबालिकाको मनमा ठेस पुर्‍याइरहेको त हुन्छ, तर त्यसबारे खुलेर भन्न सक्दैनन् ।

त्यसैले आफ्नो बच्चा विद्यालयमा कसरी प्रस्तुत हुन्छन् ? शिक्षकसँग कति सहज अनुभव गर्छन् ? कक्षाकोठामा कसरी बस्छन् ? यसबारे अभिभावकले सुक्ष्म अध्ययन गर्नुपर्छ । किनभने शिक्षकहरुले गर्ने मनोवैज्ञानिक व्यवहारले बच्चालाई गंभिर असर पनि गरिरहेका हुनसक्छ ।