हामी किन चाडै बुढो हुन्छौ ? चिन्ताले पुर्‍याउँछ चितामा

हामी किन चाडै बुढो हुन्छौ ? चिन्ताले पुर्‍याउँछ चितामा

२०७६ जेठ १० गते : हामी नेपाली कति बर्ष बाँच्छौ ? हामी बाँच्ने सरदर उमेर हो ७० बर्ष । यत्तिका उमेरसम्म हामी कति तन्दुरस्त रहन्छौ ? कति निरोगी रहन्छौ ? कित उर्जावान रहन्छौ ? कति सिर्जनसिल रहन्छौ ? कति गतिशिल रहन्छौ ?

एकैछिन उमेरको हिसाब-किताब गरौ । हामी १० बर्षसम्म बालक रहन्छौं । १३ बर्षदेखि किशोरवयमा प्रवेश गर्छौ । किशोरवय जीवनकै स्वणिर्म उमेर मानिन्छ । यतिबेला न शरीरमा रोग हुन्छ, न भय । न कुनै जिम्मेवारी हुन्छ, न कुनै भार । भनिन्छ नि, यो उमेरमा आकाशमा उडिरहेको चरा पनि समात्ने जोश र उर्जा हुन्छ हामीसँग ।

तर, १८ बर्ष नपुग्दै किशोरवय निथि्रन्छ । यतिबेलासम्म हामीलाई घर-परिवारको चिन्ताले सताउन थाल्छ । आफ्नै करियरको दबाव बढ्न थाल्छ । एकातिर भविष्य बनाउनुपर्ने, अर्कोतिर पारिवारिक जीवन सुरु गर्नुपर्ने दोहोरो चापमा पर्छौ ।

जबकी २० बर्षदेखि हामी युवावयमा प्रवेश गर्छौ । जीवनमा सबैभन्दा बढी महत्वपूर्ण मानिन्छ, युवावयलाई । किनभने समग्र जीवनको कुइनेटो नै युवा उमेर हो ।

युवावयः एक उर्वर उमेर

जब हामी युवावयमा प्रवेश गर्छौ, तब हामीमा केही परिपक्ता आउँछ । यतिबेला हामीसँग जोश हुन्छ । उर्जा हुन्छ । बल हुन्छ । त्यही कारण युवावयमा हामी जुन लक्ष्य तय गर्छौं, त्यहाँसम्म पुग्न हामीलाई केहीले छेक्न सक्दैन । त्यसैले त युवावयलाई शक्ति एवं प्रवाहको रुपमा पनि व्याख्या गरिन्छ । यो एक गतिशिल उमेर पनि हो । यतिबेला नै हामीले जीवन-यात्रामा बेग मार्न सक्छौ । छलाङ मार्न सक्छौ ।

युवा उमेरले नै समग्र जीवनको रुपरेखा तयार गर्छ । युवा उमेरमा प्रवेश गर्नुअघि हामी परिपक्क हुँदैनौ । कच्चा हुन्छौ । युवा उमेर ढल्किसकेपछि हामी कमजोर र शिथिल हुन्छौ । त्यही कारण युवा उमेरमा जे-जति गर्छौ, त्यसले समग्र जीवनमै खास अर्थ राख्छ । यसैले युवावय एक उर्वर उमेर हो, जीवनको ।

तर, हामीसँग युवावय कति रहन्छ ? हामी कति अवधी युवा भएर बाँच्न सक्छौ ?

यो प्रश्न निकै जटिल छ । हामी २०-२२ बर्षपछि युवावयमा प्रवेश गर्छौ । सामान्यत ३२-३५ बर्ष उमेरसम्मको अवधीलाई युवा भन्ने गरिन्छ । जबकी युवा हुनुसँग उमेरको कुनै नाता छैन भनिएकै छ ।

खै त हाम्रो युवावय ?

युवा हुनु भन्ने कुरा उमेरले मात्र निर्धारण गर्दैन । ओशोले भनेका छन्, ‘युवा उमेरले निर्धारण गर्ने कुरा होइन । युवा त त्यो हो, जसमा जोश हुन्छ, उर्जा हुन्छ, गतिशिलता हुन्छ ।’ यदि ओशोको विचारमा सहमत हुने हो भने हाम्रो युवावय साह्रै छोटो छ ।

किनभने हाम्रा युवा उमेरमा पुगेकाहरुसँग युवा जोश, उर्जा, सपना, गतिशिलता नहुन सक्छ । जब हामीमा यस्तो तत्व हुँदैन, तब हामी युवा रहँदैनौ । युवा नहुनुको अर्थ बुढो हुनु हो । बुद्ध हुनु हो । ओशोले यसै सन्दर्भमा भनेका छन्, ‘हामीकहाँ (भारत) युवा नै छै्रनन् । युवा जन्मदैनन् । जन्मदै सबै बुढो जन्मन्छन् ।’ हामीसँग पनि यो भनाई मिल्दो छ ।

उमेरले लक्का जवान भएपनि हामीसँग युवा सपना हुँदैन । युवा जोश हुँदैन । युवा उर्जा हुँदैन । त्यस्तो अवस्थामा हामी कसरी युवा रहँन्छौ ?

अर्कोतिर पारिवारिक संरचनाले पनि हामीलाई लामो समय युवा हुन दिदैन ।

किनभने हामी युवा उमेरको भोग गर्न नपाउँदै गृहस्थी जीवनमा प्रवेश गर्छौ । जब गृहस्थी जीवनमा प्रवेश गर्छौ, तब अनेक किसिमको अभिभारा बोक्नुपर्ने अवस्थामा पुग्छौ । एकातिर परिवारको ऋण चुकाउनेपर्ने, अर्कोतिर छोराछोरीको भविष्यका खातिर धन-सम्पति आर्जन गरिदिनुपर्ने चेपुवामा परेर हामी आफ्नो जीवनलाई भुल्न पुग्छौ । अनेक किसिमको दबाव र तनावले हाम्रो युवावय खोसिदिन्छ ।

हाम्रो युवावय लामो समय रहँदैन ।

हामी कहिले बुढो ?

हामी चाडै बुढो हुन्छौ । बुढो हुनु भनेको निस्कय हुनु । लक्ष्यहीन हुनु । कमजोर हुनु । शिथिल हुनु । आखिर हामी किन चाडै बुढो हुन्छौ ?

यसको मूख्य कारण त हाम्रो जीवनशैली र सोंच एवं चिन्तन नै हो । हाम्रो उमेर मस्त फक्रन नपाउँदै हामीलाई अनेक किसिमको तनाव एवं चिन्ताले समात्न थाल्छ । तनाव भयानक ठूलो सत्रु हो, उमेरको । यसले हाम्रो उमेरलाई चाडै नष्ट गरिदिन्छ ।

लामो आयु बाँच्नेहरुलाई अक्सर सोधिन्छ, ‘कसरी लामो आयु पाउने ?’

उनीहरुको जवाफ प्राय समान हुन्छ, ‘थोरै खानु । नपच्ने नखानु । सक्रिय रहनु । पर्याप्त निद्रा लिनु । र, चिन्ता नलिनु ।’

चिन्ताले चितामा पुर्‍याउँछ । हाम्रा पूर्खाले त्यसै भनेका हुन् र ?