युभेन्टसलाई हरायो रोमाले

युभेन्टसलाई हरायो रोमाले

सोमवार, वैशाख ३० : इटालियन सिरी ए अन्तर्गत आइतबार एएस रोमाले लिग विजेता युभेन्टसलाई पराजित गरेको छ । अन्तिम केहि समय सम्हालिन नसक्दा नयाँ जर्सीमा उत्रिएको युभेन्टसले २-० को हार बेहोर्यो ।

खेलको ७९ औं मिनेटमा एलेसान्द्रो फ्लोरेन्जीले रोमालाई अग्रता दिलाएका थिए । इन्ज्युरी समयको दोस्रो मिनेटमा एडिन जेकोले गोल गर्दै रोमाको जित पक्का गरे । त्यसअघि क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि रेफ्रीले अफसाइड दिँदै उक्त गोललाई मान्यता दिएका थिएनन् ।

खेलको पहिलो हाफमा दुवै टोलीले पोस्टमा प्रहार गरेका थिए । रोमाका लोरेन्जो पेलेग्रिनी र युभेन्टसका पाउलो डीबालाको प्रहार पोस्टमा लागेको थियो । रोमाले जितसँगै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायम राखेको छ ।

च्याम्पियन युभेन्टसले ३६ खेलमा ८९ अंक जोडेको छ भने दोस्रो स्थानको नेपोलीको ७६ अंक छ । एटलान्टाको ३६ खेलमा ६५, इन्टरको ३५ खेलमा ६३ तथा एसी मिलन र रोमाको ३६ खेलमा समान ६२-६२ अंक छ ।