खानेपानीको महसुल ई–सेवाबाट

खानेपानीको महसुल ई–सेवाबाट

चितवन, २७ वैशाख : भरतपुर खानेपानी व्यवस्थापन बोर्डले अनलाइनमार्फत पनि महसुल बुझाउन सकिने व्यवस्था गरेको छ । बिहीबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी खानेपानीको महसुल बुझाउन कार्यालय जानु नपर्ने व्यवस्था मिलाइएको जानकारी दिइएको हो । खानेपानीको महसुल बुझाउन अब ग्राहकले कार्यालयमा धाइरहनुनपर्ने गरी ई–सेवाको शुरुआत गरिएको हो । वैशाख १५ गतेदेखि परीक्षणको रूपमा शुरु गरिएको ई–सेवालाई बिहीबारबाट औपचारिकरूपमा ल्याइएको कार्यालयका कार्यकारी निर्देशक प्रजापति दाहालले जानकारी दिनुभयो । खानेपानी बोर्डमा २७ हजार ग्राहक छन् । उनीहरुलाई सहजताका लागि ई–सेवा फोनपे प्रालिसँगको समझदारीमा यो सेवा दिन लागिएको हो । सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन यो कार्यक्रम लागू गरिएको दाहालले बताउनुभयो । यो सेवामार्फत ५० प्रतिशत सेवाग्राहीलाई सेवा दिने लक्ष्य रहेको छ । विसं २०३३ बाट जुगेडीमा पाइपलाइनको विस्तारसँगै शुरु भएको खानेपानी कार्यालय अहिले आएर बोर्डमा परिणत भएको हो । भरतपुर महानगरपालिकाभित्र सेवा दिने उद्देश्यका साथ सञ्चालनमा रहेको बोर्डले अहिले महानगरको १ नं वडादेखि १६ नं वडासम्म सेवा दिँदै आएको छ । बोर्डले महानगरका ४३ प्रतिशत जनतालाई सेवा दिएको दाहालले जानकारी दिनुभयो । अन्य क्षेत्रमा पनि सेवा विस्तारको कामलाई तीव्र बनाइने उहाँले जानकारी दिनुभयो । अहिले ३३ डिपबोरिङमार्फत जनतालाई सेवा दिँदै आएको बोर्डले जमीनमुनि १०० मिटर तलबाट पानी तानेर प्रशोधन गरी पिउन योग्य बनाउँदै आएको छ । अहिले दैनिक दुई करोड पाँच लाख लिटर पानी प्रशोधन भई वितरण गरिँदै आएको छ । जसमध्ये २५ प्रतिशत चुहावट हुने गरेको र अन्य सेवाग्राहीले प्रयोग गर्ने गरेको बोर्डले जनाएको छ । बोर्डले दुई प्रकारका धारा वितरण गर्दै आएको छ । निजी धारा र संस्थागत धाराको प्रयोग भइरहेको दाहालले जानकारी दिनुभयो । बोर्डसँगै रहेको पानी प्रयोगशालामा मासिक ३० धाराको पानीको नमूना सङ्कलन गरी परीक्षण गर्दै आइएको सो अवसरमा जानकारी दिइएको थियो ।

बोर्डले मासिकरुपमा पानी प्रयोग गरेवापत रु ७० देखि ७५ लाख आम्दानी गर्दै आएको छ । यस्तै महानगरकै अन्य चार स्थानमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र उपभोक्ताको सक्रियतामा पिउने पानीको व्यवस्था गरिएको छ । शारदानगर, शुक्रनगर, जगतपुर, पटिहनीमा कार्यालयले उपभोक्तासँग मिलेर पानीको व्यवस्था गरेको हो । प्रथम सांस्कृतिक तथा व्यापार मेला भरतपुर महानगरपालिका–१५ मङ्गलपुर बजारमा प्रथम मङ्गलपुर सांस्कृतिक तथा व्यापार मेला २०७६ हुने भएको छ । गणेश युवा क्लब, बजार व्यवस्थापन समिति मङ्गलपुर र हाटबजार व्यवस्थापन समिति मङ्गलपुरको संयुक्त आयोजनामा यही जेठ १ गतेदेखि १५ गतेसम्म मेला आयोजना गर्न लागिएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । स्थानीय दराई संस्कृति संरक्षण र स्थानीय बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको आयोजक समितिका संयोजक निर्मल भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार मेला दिउँसो १२ बजेदेखि राति १० बजेसम्म सञ्चालन गरिनेछ । १२५ स्टल रहने सो मेलामा कृषि, खाना र व्यापारको प्रवद्र्धन गरिने मेलाका सहसंयोजक रमेश श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार मेलाको ७५ हजार दर्शकले अवलोकन गर्नेछन् । दराई संस्कृतिको सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिनेछ ।