अमेरिकी विदेशमन्त्रीले रुसी राष्ट्रपतिलाई भेट्ने

अमेरिकी विदेशमन्त्रीले रुसी राष्ट्रपतिलाई भेट्ने
वासिङटन, २७ वैशाख

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुुहुने भएको छ । उहाँहरुबीच अर्को हप्ता रुसमै भेटवार्ता हुने तय भएको अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ । अमेरिकी उच्च कुटनीतिक अधिकारी र रुसी राष्ट्रपतिबीच सोचीमा रहेको ब्ल्याक सी रिसोर्टमा आउँदो मङ्गलबार भेटवार्ता हुने तय भएको हो । पुटिन र पोम्पेओले पूर्णरूपमा दुई पक्षीय हित र बहुपक्षीय चुनौतीका बारेमा छलफल गर्नुहुने अधिकारीहरूको भनाई छ । अमेरिका र रुसबीच भेनेजुएला लगायतका विश्वव्यापी धेरै विषयमा ठूलो मतान्तर भएपनि उहाँहरुले विवादित विषयमा भन्दा दुई पक्षीय हितका बारेमा कुराकानी गर्न लाग्नुभएको हो । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले सत्ता छाड्नु पर्ने तर्क गरेको छ भने रुसले मदुरोले सत्ता छाड्नु नपर्ने पक्षमा साथ दिएको छ । रुस भ्रमणका क्रममा अमेरिकी विदेश मन्त्री पम्पेओले रुसी समकक्षी सेर्गेइ लाभरोभसँग पनि भेटवार्ता गर्नुहुने भएको छ । रुसका उप विदेश मन्त्री इगोर मोर्गुलोभले दिएको जानकारी अनुसार उहाँहरूबीच यही मे १४ तारिखका दिन भेटवार्ता हुन लागेको हो । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पनि टेलिफोन कुराकानी भएको थियो । उहाँहरुले उत्तर कोरियाको पछिल्लो भूमिकाका बारेमा चिन्ता र आशंका व्यक्त गर्नु भएको थियो । पुटिन र ट्रम्पको कुराकानीकै आधारमा पम्पेओले रुसको भ्रमण गर्न लाग्नु भएको हो ।