विज्ञान र प्रविधिसँग जोडिएका विषय पढाइनुपर्छ– पूर्वमन्त्री अधिकारी

विज्ञान र प्रविधिसँग जोडिएका विषय पढाइनुपर्छ– पूर्वमन्त्री अधिकारी

पोखरा, २६ वैशाख : पूर्वस्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले समयको मागसँगै विज्ञान र प्रविधिसँग जोडिएका विषय पढाइनुपर्नेमा जोड दिनुभएको छ । पोखरा महानगरपालिका–१३ आर्वास्थित रतनपाण्डे माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव समारोहमा बुधबार उहाँले नेपाली माटोमै श्रम र सीप खर्चिने किसिमको शिक्षा दिइनुपर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त गर्नुपर्ने उल्लेख गर्दै यो वा त्यो नाममा शिक्षाक्षेत्र बिगार्न नहुने धारणा राख्नुभयो ।

पूर्वाधार विकास अहिलेको प्राथमिकता हुनुपर्नेमा जोड दिँदै उहाँले गण्डकी प्रदेशबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद पोखरा विमानस्थल निर्माण समयमै निर्माण पूरा गराउन सक्रिय बनेको बताउनुभयो । पोखरामा चक्रपथ निर्माण, लामेअहालमा प्रदेशस्तरको बसपार्क, मध्यपहाडी लोकमार्गलाई भलाम हुँदै लैजाने लगायत बृहत् योजना अघि सारिएको उहाँले बताउनुभयो । वडाध्यक्ष लेकबहादुर तामाङले पोखरा महानगरपालिका–१३ नमूना बन्ने अभियानमा अघि बढेको बताउनुभयो । भौतिक पूर्वाधार विकाससँगै अब रतन पाण्डे माविले आगामी दिनमा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उक्त अवसरमा विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय विकासका लागि नगद सहयोग गर्ने चन्दादातालाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा सबैभन्दा बढी रु तीन लाख दान दिने कृष्णकुमारी बराल र कृष्णराज बराललाई सांसद अधिकारीले सम्मान गर्नुभयो । त्यस्तै रु दुई लाख चन्दा दिने विष्णु भण्डारीलगायत करीब २०० सङ्घसंस्था तथा व्यक्ति विशेषलाई सम्मान गरियो । हालसम्म करीब रु २० लाख सङ्कलन भइसकेको चन्दा अभियान आगामी दशैँसम्म चल्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष बसन्त बरालले जानकारी दिनुभयो ।

प्रधानाध्यापक डिल्लीराम बरालले विद्यालयको हितका लागि भन्दै स्थानीयवासी जागरुक बनेको बताउँदै विद्यालयले हालैमात्र बस सुविधा, इ–लाइब्रेरीलगायत शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न सुविधा दिएपछि विद्यार्थीको आकर्षण बढेको जानकारी दिनुभयो । उहाँका अनुसार दुई वर्ष वर्षअघि ७२ विद्यार्थी रहेकामा हाल बढेर ३१० पुगेको छ । कार्यक्रममा शिक्षक महासङ्घ कास्कीका सहअध्यक्ष महेन्द्रमणि पौडेल, आजीवन सल्लाहकार एवं नापी विभाग पूर्व महानिर्देशक तोयनाथ बराल, भद्रकाली मावि प्रअ घनश्याम रिजाललगायतले रतनपाण्डे माविलाई वडाकै नमूना विद्यालय बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा वर्ष शिक्षकबाट सुनिता बराल, वर्ष अभिभावक विष्णुमाया पौडेल बराल, वर्ष विद्यार्थी विनीता भुजेल र एसइई उत्कृष्टतर्फ सङ्गम सुनार र पत्रकार विजय नेपाललाई सम्मान गरिएको थियो ।