महागुरु फाल्गुनन्दको शालिक अनावरण

महागुरु फाल्गुनन्दको शालिक अनावरण

भद्रपुर, २५ वैशाख : झापाको खुदुनाबारीमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको शालिक अनावरण गरिएको छ । अर्जुनधारा नगरपालिका–२ र ३ को सीमामा पर्ने खुदुनाबारी चोकमा रु आठ लाखको लागतमा निर्मित शालिकको अनावरण मङ्गलबार किरात धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्रा हाङमा लिङ्देनले गर्नुभएको हो । साढे सात फिट उचाइ र छ फिट गोलाइ रहेको शालिकको जगदेखिको उचाइ १५ फिट रहेको शालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्र आङ्देम्बेले बताउनुभयो । खुदुनावारी–शनिश्चरे–बिर्तामोड सडकखण्डअन्तर्गत खुदुनावारी चोकमा निर्माण सम्पन्न भएको शालिकको अनावरणपछि उक्त चोकको नाम ‘फाल्गुनन्द चोक’ नामकरण गरिएको छ । उक्त मार्ग स्तरोन्नति गर्न सङ्घीय सांसद पवित्रा निरौला खरेलको सांसद विकास कोषबाट रु २० लाख र वडाबाट रु पाँच लाख विनियोजन भएको उपभोक्ता समितिका अध्यक्ष ढुण्डीराज गौतमले जानकारी दिनुभयो ।