अनाथ बालबालिकाका सारथी समाजसेवी थापा

अनाथ बालबालिकाका सारथी समाजसेवी थापा

दोलखा, २२ वैशाख  : असहाय बालबालिकालाई सदरमुकाम चरिकोटका एक व्यवसायीले स्कूल ब्याग सहयोग गरेका छन् । जिल्लाको गौरीशङ्कर बालगृहमा रहेका २९ बालबालिकालाई चरिकोटका व्यवसायी सनत थापाले शनिबार बालगृह पुगेर रु ३२ हजार बराबरको स्कूल ब्याग, मिठाइ र खानेकुरा बाँडेका हुन् । थापाले भीमेश्वर नगरपालिका–५ मा रहेको बालगृहका बालबालिकालाई आफ्नो परिवारका तर्फबाट वर्षेनी सहयोग गर्दै आएको केन्द्र प्रमुख सुरज विष्टले बताउनुभयो । विष्टले भन्नुहुन्छ, “अघिल्लो वर्ष थापाले ओच्छ्याउने तन्नाका साथै दुई वर्षअघि स्टेशनरी सामग्री सहयोग गर्नुभएको थियो ।” बालगृहका प्रमुख विष्टका अनुसार व्यवसायी थापा वर्षको एक पटक सहयोग बोकेर बालगृहमा आउने गर्नुभएको छ । थापाको परिवारले वर्षको एक पटक यहाँ के आवश्यकता छ, त्यहीअनुसारको सामान बोकेर आई अनाथलाई सहयोग गर्ने गरेको विष्टले बताउनुभयो । चरिकोटस्थित सातदोबाटो चोकका थापा हार्डवेयरलगायतका व्यवसायमा संलग्न छन् । उहाँ दोलखा उद्योग वाणिज्य सङ्घका वरिष्ठ सदस्य हुनुहुन्छ । नेपाल बाल सङ्गठनद्वारा सञ्चालित यो बालगृह सङ्गठनकै बजेटबाट चल्ने गरेको छ । यस्तै बेलाबेलामा सहयोगी भावना भएका मनकारी मानिसले समेत ल्याउने सहयोगले बालगृह सञ्चालन गर्न थप सजिलो हुने गरेको विष्टले बताउनुभयो ।