लेवान्डोस्की र कोमानको कुटाकुट बायर्नको प्रशिक्षणमा

लेवान्डोस्की र कोमानको कुटाकुट बायर्नको प्रशिक्षणमा

शुक्रबार, चैत्र २९ : जर्मन च्याम्पियन बायर्न म्युनिखका दुई खेलाडी रोबर्ट लेवान्डोस्की र किङस्ले कोमानबीच प्रशिक्षणको क्रममा झगडा परेको छ ।

बिहीबार टोलीको प्रशिक्षणका क्रममा लेवान्डोस्कीले कोमानलाई केहि भनेपछि उनी रिसाएका थिए । रिस थाम्न नसकेका कोमानले भनाभन गर्न थालेपछि विवाद चर्कंदै गैर दुई खेलाडीले एक अर्कामाथि मुक्का बर्साएका थिए । दुई खेलाडीबीच झगडा सुरु भएपछि डिफेन्डर द्वय जेरोम बोटेङ र निकलास सुलले दुई खेलाडीलाई छुट्याएका थिए ।

प्रशिक्षक निको कोभाचले दुवै खेलाडीलाई बाहिर राख्दै केहीबेर प्रशिक्षण अगाडी बढाएपनि पछि दुवै खेलाडीलाई प्रशिक्षणमा सामेल गराएका थिए । प्रशिक्षक कोभाचले शुक्रबार हुने पत्रकार सम्मेलनमा घटनाबारे विवरण दिने बुझिएको छ । दुवै खेलाडीलाई क्लबले अन्तरिक कारवाही गर्ने सम्भावना रहेको छ ।

अघिल्लो सिजन पनि लेवान्डोस्की र म्याटस हमल्सबीच प्रशिक्षणमा झगडा पर्दा सहकर्मीहरुले छुट्याउनु परेको थियो । क्लबले त्यसबेला दुवै खेलाडीसँग स्पष्टिकरण लिँदै चेतावनी दिएर छाडेको थियो । बयार्णले शनिबार हुने खेलमा माइन्जको सामना गर्दैछ ।