‘दैनिक कपडा किन्ने मसँग पैसा छैन’- ट्रोल गर्नेलाई जाह्नवीको जवाफ

'दैनिक कपडा किन्ने मसँग पैसा छैन’- ट्रोल गर्नेलाई जाह्नवीको जवाफ
मुम्बई :फिल्म ‘धडक’ बाट सुखद डेब्यू गरेकी स्वर्गीय अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूरले कयौं पटक विभिन्न कारणले ट्रोलको सामना गरिसकेकी छन् । यसपटक उनी रिपिटेड कपडाको कारण ट्रोलको शिकार भएकी छन् । कपडामा ट्रोल बनाउनलाई उनले एक च्याट शोमा जवाफ दिएकी छन्, ‘मसँग त्यति धेरै पैसा छैन कि, म हरेक दिन नयाँ कपडा किनुँ ।’
जाह्नवीको यो जवाफको अर्थ बुझ्न गाह्रो छैन । खासमा, उनले आफूसँग दैनिक नयाँ कपडा किन्ने पैसा नभएको बताएकी हुन् । अनीता श्राफ अदजानियाको च्याट शोमा उनले अगाडि भनिन्, ‘एउटै कपडा लगाउन मलाई केही लाज लाग्दैन । एउटै कपडा लगाएको भनेर हुने ट्रोल्सले मलाई फरक पनि पार्दैन । हामी जो कोहीलाई खुसी बनाउन सक्दैनौं, खासगरि कपडाबाट ।’
जाह्नवी आफ्नो कामलाई लिएर हुने आलोचनालाई भने गम्भीर रुपमा लिने बताउँछन् । ‘जिमभन्दा बाहिर लुक्स मेन्टेन गर्नु मेरो काम होइन’, आफ्नी आमा श्रीदेवीको केही कुरा स्मरण गराउँदै उनले भनिन्, ‘ममीले मलाई सधैं भन्नुहुन्थ्यो- धेरै नसोच, आफ्नो कामलाई बुझ, पूरा मेहनत गर र आफ्नो काममा इमान्दार हौ ।’ अहिले उनी ‘कारगिल गर्ल’ फिल्मको छायांकनमा व्यस्त छिन् ।
यो फिल्म कारगिल युद्धमा आधारित फिल्म हो । यसमा जाह्नवी एयरफोर्स पाइलट गुन्जन सक्सेनाको भूमिकामा छिन् । फिल्ममा उनको भूमिका निकै महत्त्वपूर्ण छ, जसका लागि उनले निकै मिहिनेत गरेकी छन् । ‘कारगिल गर्ल’ मा अंगद बेदीले जाह्नवीको भाईको भूमिका निभाएका छन् । पंकज त्रिपाठी पिताको भूमिकामा छन् । शरण शर्मा यसका निर्देशक हुन् ।