आइसीपीले व्यापार घाटा कम गराउने

आइसीपीले व्यापार घाटा कम गराउने

विराटनगर, २६ चैत : भारतको कोलकाताका लागि नेपालका महावाणिज्य दूत एकनारायण अर्यालले नेपाल भारतको सीमा क्षेत्र जोगबनीमा बन्न लागेको एकीकृत भन्सार सुरक्षा जाँच चौकी(आइसीपी)ले व्यापार घाटा कम गराउने विश्वास व्यक्त गर्नुभएको छ । सो चौकीको निरीक्षणपछि पत्रकारसँग उहाँले भारतको कोलकताबाट आयात हुने सामानहरु ढुवानीको क्रममा हुने समस्या अन्त्य हुने बताउनुभयो । विगतमा नेपालका लागि आयात हुने सामान वीरगञ्ज नजिकको रक्सौल नाकाबाट आयात हुँदा समय बढी लाग्ने र ढुवानी खर्च पनि बढ्ने देखिएकाले अब आउने सामानहरुको ढुवानी खर्च र समय कम लाग्ने महावाणिज्य दूत अर्यालले चर्चा गर्नुभयो । उहाँले यस किसिमको सुविधाबाट नेपाली उपभोक्तामा पर्ने महङ्गीको चाप पनि कम हुने विश्वास व्यक्त गर्नुभयो ।

सोही अवसरमा कन्टेनर कर्पोरेशन अफ इण्डियाका चिफ एस रहमानले आइसीपीको सञ्चालनबाट कोलकताको सामान राख्ने गोदामको समस्या समाधान हुने र जोगबनी आइसीपीमा दुई लेनको रेल लिक बन्ने वित्तिकै ४० कन्टेनर रेलको सामानलाई व्यवस्थापन गर्न सकिने बताउनुभयो । विराटनगर भन्सार कार्यालयका प्रमुख मिमाश अधिकारीले आइसीपीको सञ्चालनबाट भन्सार क्षेत्रमा देखिने धेरै समस्या निराकरण भएर जाने र यसबाट काम गर्न पनि सुविधा हुने चर्चा गर्नुभयो । व्यापारी प्रदीप मुरारकाले व्यापारीले लामो समयदेखि यो नाकामा सिधै कोलकताबाट सामान ढुवानी हुनुपर्छ भन्ने थियो तर अहिले सरकारले यो काममा तीव्रता दिएकाले खुशी लागको बताउनुभयो ।