प्रदेश प्रसारण र सहकारी विधेयक पारित

प्रदेश प्रसारण र सहकारी विधेयक पारित

रुपन्देही, २६ चैत : प्रदेश ५ को प्रदेशसभाले प्रदेश प्रसारण र सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक पारित गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रस्तुत गर्नुभएको प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले प्रस्तुत गर्नुभएको सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिबाट पारित भएको हो । बैठकमा प्रस्तुत विधेयकमा सबै प्रदेशसभा सदस्यले सहमति जनाएपछि सर्वसम्मत पारित भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गर्नुभएको हो । त्यसअघि विशेष समयमा सदस्यहरुले भूमि समस्या, चिकित्सकहरुको आन्दोलन र जडीबुटीले बजार नपाएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले चिकित्सकहरुको आन्दोलनले स्वास्थ्य क्षेत्रमा पारेको प्रभावबारे जानकारी गराउँदै तत्काल समस्या समाधानका लागि पहल गर्न सरकारसँग माग गर्नुभयो । कर्मचारी समायोजनको नाममा समानताको सिद्धान्तलाई नमानेर चिकित्सकहरु हड्तालमा उत्रिएको भन्दै उहाँले सरकारको नीति नियम पालना गर्न सुझाव दिनुभयो ।

सरकारले समयमै वार्ता गरी समस्या समाधान गर्नुपर्छ, श्रेष्ठले भन्नुुभयो, “सार्वजनिक सरोकारका विषयमा लापरवाही हुनुहुँदैन ।” प्रदेशसभा सदस्य मोहम्मद याकुब अन्सारीले जडीबुटी निकासी हुन नपाएकाले किसानहरु मारमा परेको बताउनुभयो । उहाँले प्रदेशमा सबैभन्दा धेरै जडीबुटी निकासी हुने दुई वटा नाका भए पनि निकासी हुन नसक्दा किसानहरु मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । अर्का सदस्य अमरबहादुर डाँगीले भूमि समस्या समाधानका लागि अविलम्ब भूमि व्यवस्था आयोग गठन गर्न सरकारसँग माग गर्नुभयो । बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दामाकुमारी शर्माले प्रदेश ५ अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक पेश गर्नुभएको थियो । यसैगरी कृषि वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादवले प्रदेश ५ को मल व्यवस्थापन, पशु स्वास्थ्य तथा पशु सेवा र पशु बधशाला सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयकहरु बैठकमा पेश गर्नुभएको थियो ।