रामपुर नगरसभाबाट चार कार्यविधि पास

रामपुर नगरसभाबाट चार कार्यविधि पास

बेझाड (पाल्पा), २६ चैत : रामपुर नगरपालिका पाल्पाको चौथो नगरसभाले चार कार्यविधि पास गरेको छ । नगरसभाले नदी तथा सार्वजनिक क्षेत्रको सरसफाइसम्बन्धी कार्यविधि २०७५, स्थानीय राजपत्रसम्बन्धी कार्यविधि २०७५, युवा स्वरोजगार कार्यक्रम कार्यविधि २०७५ र नगरपालिका विधान समिति नियमावली २०७५ बहुमतले पास गरेको हो । सोमबार बसेको नगरसभाले झण्डै रु चार करोड बराबरको बजेट बहुमतले पारित गरेको नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।

तेस्रो नगरसभाले पारित गरेका ३२ योजनाको नाम परिवर्तनसहित रु एक करोड ५५ लाख बराबरको बजेट रकम रकमान्तर गरेको छ । विद्युत् विस्तार कार्यक्रम, विद्युत् पोल खरीद, रामपुर कोष, फोहरमैला व्यवस्थापन, सफ्टवेयर निर्माण गरी पाँच शीर्षकका रकम अन्य १० वटा योजनामा थप गरेको छ । नगरसभामा ८७ शीर्षकका योजनाको बजेट ‘सिलिङ’ प्रस्तुत भएको थियो । खरको छानामुक्त नगरमा यस वर्ष प्रदेश सरकारको ५० लाख र नगरको ५० लाखले जस्तापाता वितरण भइरहेको र युवा स्वरोजगारअन्तर्गत रु १२ लाखसम्म बिना ब्याजमा ऋण प्रदान गर्ने प्रक्रियामा नगरपालिका रहेको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले चालू आर्थिक वर्षका लागि रु ६० करोड २५ लाख ५६ हजार आम्दानी हुने अनुमान गरिएकामा हालसम्म रु ४४ करोड २८ लाख १६ हजार ८१० मात्र आम्दानी प्राप्त भएको बताउनुभयो । जसमध्ये हालसम्म गत वर्ष भुक्तानी रु एक करोड ४६ लाख ८२ हजार २९० तिरेर रु ४२ करोड ८१ लाख ३४ हजार ५२० खुद आम्दानी रहेको अर्यालले जानकारी दिनुभयो । खर्चतर्फ चालूमा रु २१ करोड ५० लाख १४ हजार ७२०, पूँजीगत रु पाँच करोड २७ लाख २७ हजार ४९० गरी हालसम्म रु २६ करोड ७७ लाख ४२ हजार २१० खर्च भएको पाइएको छ । सङ्घीय सरकार र प्रदेश सरकारबाट आउने रकम र आन्तरिक रकम गरी चार करोडको बजेट हुने भए पनि सङ्घीय र प्रदेशबाट आउने रकमको टुङ्गो नलाग्दा योजनाका शीर्षकहरु मात्र सभामा ल्याइएको नगरसभामा जानकारी दिइएको छ ।

नेकपाद्वारा नगरसभा बहिष्कार नेकपा रामपुर नगर कमिटीले नगरपालिकाको चौथो नगरसभा बहिष्कार गरेको छ । पारित भएको विधेयक नियमावलीका लागि बजेट सिलिङमा रकम उल्लेख नगरिएको भन्दै आपत्तिजनक नगरसभा बहिष्कार गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । नेकपा नगरका संसदीय दलका नेता एवम् नगरपालिका–१० का अध्यक्ष लीलबहादुर गाहाले बजेट सिलिङमा योजना सबै उतारिएको तर तिनको बजेट नै उल्लेख नभएपछि आपत्तिजनक बहिष्कार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

बजेट सिलिङ बहुमतले पास गरे पनि नेकपासँग आबद्ध २१ जना प्रनिनिधिले सो सिलिङमा आपत्ति जनाउनै नगरसभाबाट बाहिरिएको बताइएको छ । पत्रकार सम्मेलनमार्फत पारित भएको विधेयक नियमावलीका लागि बजेट सिलिङमा रकम उल्लेख गर्न माग गरिएको छ । कार्यविधिमा कतिपय कुरामा सहमति र विमति रहँदा मौन भए पनि बजेट सिलिङमा विनियोजित रकम उल्लेख नै नभएकामा आपत्ति जनाउँदै बाहिरिएको कमिटीले बताएको छ ।