पीएसजीद्वारा खेलाडी निलम्बन इन्स्टाग्राममा भिडियो ‘लाइक ‘गर्दा

पीएसजीद्वारा खेलाडी निलम्बन इन्स्टाग्राममा भिडियो ‘लाइक ‘गर्दा

सोमवार, चैत्र २५ : सामाजिक संजालमा खेलाडीहरुको प्रस्तुतिलाई क्लबहरुले पछिल्लो समय निकै नजिकबाट निगरानी गरिरहेका छन् । आफ्ना समर्थकहरुको भावनाको कदर गर्दै खेलाडीहरुलाई क्लबकै मर्यादा पालन गर्न खेलाडीहरुले सोच्नुपर्ने हुन्छ ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मिडफिल्डर एड्रीएन राबीओटलाई सामाजिक संजाल इन्स्टाग्राममा एक भिडियो लाइक गरेको भन्दै निलम्बन गरेको छ । पछिल्लो समय क्लबसँग नयाँ अनुबन्धन नगरेका कारण सिनियर टोलीमा नरहेका राबीओटले फ्रान्सका पूर्व डिफेन्डर प्याट्रीस एभ्राले हालेको भिडियो लाइक गर्दा समस्यामा परेका हुन् ।

एभ्राले म्यानचेस्टर युनाइटेड र पीएसजीबीच पार्क डे प्रिन्सेसमा भएको खेलमा युनाइटेडले जित दर्ता गरेपछि खुसियाली मनाएको भिडियो इन्स्टाग्राममा हालेका थिए । राबीओटले उक्त भिडियो लाइक गरेपछि पीएसजीले उनलाई निलम्बन गरेको हो । क्लबप्रति वफादारी नदेखाएको र क्लबको अस्मितामा खलल पुग्ने कार्य गरेको कारण उनलाई निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

युरोपकै उत्कृष्ट युवा मिडफिल्डरमा गनिने राबीओट पछिल्लो समय भने क्लबबाट खेलिरहेका छैनन् । उनले अर्को जुनमा पीएसजीसँग सम्झौता सकिएपछि फ्री ट्रान्सफरमा अन्य क्लब जाने बुझिएको छ । उनलाई बार्सिलोनाले लामो समयदेखि पछ्याइरहेको छ ।