ज्योतिको एकीकृत कारोवार शुरु

ज्योतिको एकीकृत कारोवार शुरु

नुवाकोट, १६ चैत : नुवाकोटमा केन्द्रीय कार्यालय रहेको हाम्रो विकास बैंक शुक्रबारदेखि ज्योति विकास बैंकमा समाहित भएको छ । ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गरेपछि औपचारिक रुपमा ज्योति विकास बैंकको नाममा कारोवार शुरु भएको हो ।

एकीकृत कारोवारको नेपाल राष्ट्र बैंकका सञ्चालक सदस्य रामजी रेग्मीले शुक्रबार शुभारम्भ गर्नुभयो । उहाँले ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ति गरेपछि अझै सबल हुने र बैंकिङ सेवा विस्तारित हुने विश्वास व्यक्त गर्नुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले एकीकृत कारोवारपश्चात् विकास बैंकहरुमा चुक्त पूँजीको हिसाबले सबैभन्दा ठूलो विकास बैंक भएको बताउनुभयो । एकीकृत कारोवारपश्चात् बैंकको निक्षेप रु २६ अर्ब ३८ करोड, कर्जा रु २३ अर्ब ५७ करोड पुगेको छ भने चुक्त पूँजी रु तीन अर्ब १० करोड पुगेको छ । यस्तै शाखा ९५ पुगेको छ भने चालू आवमा दुई वटा नयाँ शाखा र २६ स्थानमा एटिएम सञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।