बायर्न र लिभरपुल भिड्दै क्वाटरफाइनल पुग्न

बायर्न र लिभरपुल भिड्दै

 बुधबार, फाल्गुन २९ : यूईएफए च्याम्पियन्स लिगअन्तर्गत प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति जर्मन च्याम्पियन बायर्न म्युनिखले इंग्लिस प्रतिद्वन्द्वी लिभरपुलको सामना गर्दै छ । खेल बायर्नको मैदान आलियान्ज एरिना म्युनिखमा नेपाली समय अनुसार राति १ः४५ बजेपछि हुनेछ ।

पहिलो लेग गोलरहित बराबरीमा सकिएकोले दोस्रो लेग निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ । लिभरपुल विरुद्धको ८ खेलमा बायर्नले एक खेलमा जितमा हात पार्दा ५ हार र २ बराबरीको नतिजा निकालेको छ । १९७१ मा भएको विनर्स कपमा बायर्नले लिभरपुललाई ३–१ ले पराजित गरेको थियो । त्यसयता बायर्नले लिभरपुललाई पराजित गर्न सकेको छैन ।

लिभरपुलविरुद्धको पहिलो लेगमा बायर्नले राम्रो खेल्न सकेको थिएन । घरेलु मैदानमा बायर्न लिभरपुललाई पराजित गर्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा मैदान उत्रनेछ । बायर्न सन् २०१०–११ पछि लगातार क्वाटरफाइनलमा पुग्न सफल टोली हो । त्यतिबेला बायर्न इन्टर मिलानसँग प्रि–क्वाटरफाइनलमा पराजित भएको थियो ।

पछिल्ला ७ खेलमा अपराजित बायर्नका लागि लिभरपुलविरुद्ध फरवार्ड रोबर्ट लेवान्डोस्की मुख्य हतियार हुनेछन् । लेवान्डोस्कलीले घरेलु मैदानमा आलियान्ज एरिनामा भएको च्याम्पियन्स लिगको २२ खेलमा २३ गोल गरेका छन् । बायर्न बुन्डेस लिगाको शीर्षस्थानमा रहँदा लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा छ ।

लिभरपुलविरुद्धको खेलमा गोलरक्षक म्यानुएल नुयरले बायर्नको पोस्ट सम्हाले उनी च्याम्पियन्स लिगमा १०० खेल खेल्ने छैटौ गोलरक्षक हुनेछन् । यसअघि इकर कासियस, जियानलुजी बुफोन, पिटर चेक, भिक्टर भाल्डेज र ओलिभर काहनले च्याम्पियन्स लिगमा १०० खेल खेल्ने आँकडा पारे गरेका छन् ।

यता, लिभरपुल बायर्नलाई उसकै मैदानमा पराजित गर्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ । पछिल्ला १० खेलमा अपराजित लिभरपुलले पहिलो लेगमा प्रभावशाली प्रदर्शन गरेपनि गोल गर्न असमर्थ बनेको थियो । उसका फरवार्ड साडियो माने, मोहम्मद सलाह र रोबर्टाे फिर्मिनोको प्रयास असफल भएको थियो । त्यो गल्तीलाई सुधार्दै लिभरपुल बायर्नविरुद्ध उत्रनेछ ।

क्वाटरफाइनल पुग्न दुवै टोलीलाई जित आवश्यक छ । तर, गोलसहित बराबरी भएको अवस्थामा लिभरपुल अवे गोलको आधारमा अघि बढ्नेछ । यता, बायर्नलाई गोलसहितको बराबरीले अर्काे चरण नपुग्ने हुदा बायर्नलाई निश्चित जित आवश्यक छ ।