पीएसजीको फराकिलो जित फ्रान्सेली लिगमा

पीएसजीको फराकिलो जित फ्रान्सेली लिगमा

बुधबार, फाल्गुन २९: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग अन्तर्गत मंगलबारको खेलमा डिजोनलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

गत साता च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडसँग नाटकीय रुपमा पराजित भएपछि लिग खेलमा पीएसजीले सुखद पुनरागमन गरेको हो । पीएसजीको जितमा मार्किन्होसले सातौं मिनेटमा हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको ५ मिनेट समय बाँकी रहँदा स्टार फरवार्ड किलियन एमबाप्पेले गोल गर्दै अग्रता दोब्बर पारे ।

दोस्रो हाफको सुरुवाती समयमा एन्जल डी मारियाले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै पीएसजीलाई ३-० ले अगाडी बढाए । इन्ज्युरी समयको तेस्रो मिनेटमा एरिक म्याक्सिम चुप-मोटिङले गोल गर्दै फराकिलो जित सुनिश्चित गरे । यस जितसँगै पीएसजीले अंक तालिकाको शीर्ष स्थानमा १७ अंकको अग्रता बनेको छ । दोस्रो स्थानको लिलभन्दा पीएसजीले एक खेल कम खेलेको छ ।

लगातार दोस्रो तथा पछिल्लो ७ सिजनमा छैटौं उपाधि जित्ने लगभग सुनिश्चित भएको छ । प्रशिक्षक थोमस टुचेलले पनि च्याम्पियन्स लिगको पिडालाई यस जितले केहि हदसम्म बिर्साएको छ । ‘ हामीले युनाइटेडविरुद्ध खेलपछि यस्तो प्रदर्शन गर्न जरुरि थियो । अब हाम्रो लक्ष्य लिग र कपको उपाधि जित्नु हो । यसका लागि हामीले च्याम्पियन्स जसरि खेल्नुपर्छ,’ उनले भने ।