चिठ्ठीपत्रका लागि अब हुलाक रोजिँदैन

चिठ्ठीपत्रका लागि अब हुलाक रोजिँदैन

बेझाड, पाल्पा, २० फागुन : कुनै बेला विदेशमा रहेको छोरोले पठाएको चिठ्ठी पढ्न लगाउन गाउँमा पढे लेखेका मान्छे खोज्दै हिँड्नु पथ्र्यो । धेरैजसो गाउँले पढाइलेखाइ नहुँदा गाउँमा पढे लेखेका मानिसको घरमा पुगेर चिठ्ठी पढ्न दिने र छोरोको खबर सुनेर फर्कने बाध्यतामा हुन्थे । रामपुर नगरपालिका ५ सानीअमराई बस्ने घनकुमारी सुवेदीलाई यी दिन अहिले पनि झझल्ती याद आउँछ ।

छोरालाई सञ्चो बिसञ्चो, घरायसी खबर पु¥याउन प¥यो भने पनि हातमा कापी र कलम बोकेर उसैगरी उहाँ जानुहुन्थ्यो । अहिले भने घरमै बसेर मोबाइल, इन्टरनेटबाट छोरासँग दैनिक कुराकानी गर्न पाउँदा ६१ वर्षीय सुवेदी दङ्ग हुनुहुन्छ ।

“मोबाइल फोन घरका सबैका हात हातमा हुन थालेपछि गाउँ गाउँमा चिठ्ठी पढ्ने मान्छे खोज्दै हिँड्नुपर्ने झण्झट भएन, हुलाकमा चिठ्ठी आयो कि भनेर व्यग्र भएर पर्खनुपर्ने र चिठ्ठी पठाउने झण्झट अब सबै हटेको छ,” उहाँले भन्नुभयो । बूढेसकालमा अहिले घरमै बसी बसी विदेशमा रहेको छोरोसँग दिनहुँ इन्टरनेटको सहायताबाट कुरा गर्न पाउँदा जमाना फेरिएको उहाँ अनुभूति गर्नुहुन्छ ।

“नातिले मोबाइलमा फोन नम्बर थिचेर लाइदिन्छ, घरी फेसबुकबाट भिडियोमा बाबासँग बोल्नु आमा भनेर मोबाइल फोन ल्याइदिन्छ, मज्जाले घरको आँगनीमा बसेर छोरालाई हेर्दै बोल्दै गर्छु,” सुवेदीले भन्नुभयो । उहाँलाई प्रविधिको यो चमत्कारप्रति आश्चर्य लाग्छ ।

अरुलाई चिठ्ठी लेख्न र पढ्न लगाउँदा निकै समस्या हुने गरेको क्षणलाई सम्झँदै उहाँ भन्नुहुन्छ – “बाँच्नुपर्ने रहेछ । नचिताएको सुख सुविधा जीवनमा भोग्न पाइन्छ भन्ने उखान सुनेको थिएँ । आज मलाई यस्तै भएको छ । अझै के के पाइने हो ।”

त्यस्तै, रामपुर नगरपालिका–७ बहखोला बस्ने लक्ष्मी पाण्डेले मोबाइल फोनको सुविधा नहुँदा एउटा चिठ्ठी आउन महिनौंसम्म पर्खनु परेको बताउनुभयो । अहिले भने घरमा रहँदा होस् या मेलापात, घाँस दाउरा, वनपाखा, बजार जाँदा जतिबेला पनि विदेशमा भएको श्रीमान्सँग मोबाइल फोनमा कुरा गर्न पाएर उहाँ आफै दङ्ग हुनुहुन्छ ।

“हुलाक कार्यालयमा धेरै पटक धाइयो चिठ्ठी पठाउन र बुझ्न, अहिले भने मोबाइल फोनमै आनन्दले घरायसी विषय, सञ्चो बिसञ्चोका कुरा भइरहन्छ,” पाण्डेले भन्नुभयो – “हुलाकमा चिठ्ठी आउँछ कि भनेर दुई–तीन दिन बिराएर सोधपुछ गर्न गइन्थ्यो, आजभोलि हुलाक कार्यालय धाउने झण्झटै छैन ।”

कुनै बेला मानिसका सन्देश एक ठाउँबाट अर्को ठाउँमा बसोबास गर्ने मानिससम्म पु¥याउन भरपर्दो माध्यमका रुपमा हुलाक सेवालाई लिइन्थ्यो । मोबाइल, फोन, इन्टरनेटको सुविधा नआउँदासम्म हुलाक सेवाको प्रयोग गर्ने अत्यधिक भेटिन्थ्यो । अहिले भने यसको कमै मात्र प्रयोग हुने गरेको छ । पछिल्लो समय आधुनिक प्रविधिमा मानिसको पहुँच बढेसँगै चिठ्ठीका माध्यमबाट सन्देश पठाउने हुलाकको प्रयोग कम हुँदै गएको हो । देशभित्रै र विदेशमा रहेका आफ्ना आफन्त, साथीभाइलाई हालखबर पु¥याउन हुलाक सेवा भरपर्दो माध्यमको रुपमा रहेको छ ।

अहिले सबैका हात हातमा मोबाइल फोन, घर घरमा इन्टरनेट सेवा छ । समुद्रपारिका मुलुकसम्म सहज रुपमा कुरा गर्न सकिन्छ । इन्टरनेटको पहुँच पुगेको ठाउँमा जहाँ कहीँ आफ्ना आफन्त, साथीभाइसँग भिडियो च्याट गर्दै कुरा गर्न सकिन्छ । इन्टरनेटको सुविधाले गाउँघरको हालखबर तत्कालै सजिलैसँग थाहा पाउन सकिन्छ ।

मोबाइल फोन, इन्टरनेटको पहुँच विस्तार हुदै जाँदा हुलाक कार्यालयहरु सुनसान बनेका छन् । दिनभर कार्यालय कुरेर बस्ने भन्दा बाहेक अरु काम नभएको रामपुर इलाका हुलाक कार्यालयका हल्करा चित्रकला श्रेष्ठ बताउनुहुन्छ ।

“कार्यालयमा बिहान १० बजे आएदेखि नै काम खासै हँुदैन, दिनभर समय कतिबेला बित्छ भनेर बस्नु परेको छ, काम मज्जाले गर्न पाए पो आफ्नो ज्ञान शीप पनि बढेर जान्थ्यो,” श्रेष्ठले भन्नुभयो । यस कार्यालयमा एकजना खरिदार, तीनजना हुलाकी, एकजना हल्कारा गरी पाँच कर्मचारी कार्यरत छन् ।

संस्थागत चिठ्ठी, पत्रपत्रिका आदानप्रदान भइरहे पनि व्यक्तिगत चिठ्ठी आदानप्रदान नहुँदा कार्यालयमा चलहपहल घटेको हुलाकी उमा रेग्मीले बताउनुभयो । हुलाक कार्यालयमा सेवा लिन जाने नागरिकको सङ्ख्या अत्यन्तै न्यून छ ।

मोबाइल फोनको सुविधा नहुँदासम्म दिनमा १०० भन्दा बढी चिठ्ठी बोकेर गाउँ गाउँमा पुग्ने गरेको स्मरण गर्नुहुन्छ निस्दी गाउँपालिका–५ गल्धाका पूर्ण सिं गैरे । उहाँले रामपुर इलाका हुलाक कार्यालयबाट प्राप्त चिठ्ठी, पत्रपत्रिका बोकेर साविक गल्धा गाउँ विकास समितिसम्म चिठ्ठी लैजाने र ल्याउने काम गर्दै आउनुभएको छ ।

उहाँले २०३९ सालदेखि निरन्तर रुपमा रामपुरबाट गल्धासम्म चिठ्ठी ल्याउने र लैजाने काम गरिरहनुभएको छ । “पहिला त चिठ्ठीका खातैखात हुन्थे, चिठ्ठी बोकेर जाँदा बाटोमै मेरो चिठ्ठी आयो आएन भनेर सोध्न आउने गर्थे, अहिले कार्यालयमा आउने जाने त गर्नै प¥यो तर पहिलाको तुलनामा एकदमै कम चिठ्ठी आउँछ,” गैरेले भन्नुभयो ।

पाल्पा जिल्लामा रामपुर, सहलकोट, ताहुँ, हुँगी, झडेवा, आर्यभन्ज्याङ्ग, जल्पा, खस्यौली, छहरा, बल्डेङ्गगढी, अर्गली, मदनपोखरा, पालुङ्गमैनादी गरी १३ वटा इलाका हुलाक कार्यालय र ५२ वटा अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा छन् । हुलाक कार्यालयबाट बैंक, सरकारी चिठ्ठीपत्र आदानप्रदान र संस्थागत कामहरु भइआएका छन् ।

पत्रिका, रेडियो, केबुल टिभीको रोयल्टी बुझाउने, नवीकरण गर्ने, लोकसेवाको दस्तुर बुझ्ने जस्ता कामहरु निरन्तर रुपमा भइरहेको जिल्ला हुलाका कार्यालय पाल्पाका निमित्त हुलाक अधिकृत लीला ढेँगाले बताउनुभयो । उहाँका अनुसार व्यक्तिगत प्रयोजनका चिठ्ठीपत्र आउने क्रम भने बढ्दो आधुनिक प्रविधिको प्रयोगका कारण जिल्लामा अत्यन्तै कम छ ।