अल्लो प्रशोधन यन्त्र स्थापना गरिने

अल्लो प्रशोधन यन्त्र स्थापना गरिने

दैलेख, ७ फागुन : परम्परागत रुपमा अल्लो काट्ने सुकाउने, गरिँदै आएकामा अब भने जिल्लाको नौमूलेमा आधुनिक उपकरणको प्रयोग गरिने भएको छ । परम्परागत रुपमा अल्लोको सङ्कलन तथा प्रशोधनको काम हुँदै आएकामा अब अल्लो प्रशोधन मेशिन स्थापनाको तयारी गरिएको छ ।

स्थानीय उद्यमी परे खड्काले नौमूलेमा स्थानीय सरकारको लगानीमा अल्लो प्रशोधन गर्ने मेशिन ल्याएउनु भएको छ । आधुनिक मेशिनले रेसा, धागो, भुवा, छुट्टाछुट्टै निकाल्ने भएकाले स्थानीयस्तरको कच्चा पदार्थबाट उद्यमीले बढी आम्दानी लिन सकिने खड्काले बताउनुभयो । उहाँका अनुसार एक महीनाभित्र मेशिन सञ्चालनमा आउनेछ ।

जिलामा अल्लो व्यवसाय गर्ने साना उद्यमीको सङ्ख्या करीब ४५० रहेको छ । यीमध्ये करीब ३०० उद्यमी नौमूले गाउँपालिकामा रहेको बताइएको छ । उच्च भूभाग गरीबी धेरै भएका कारण यहाँका बासिन्दा जङ्गलमा खेर गएको अल्लो घरमा ल्याउने, परम्परागत शैलीमा प्रशोधन गर्ने र सस्तो मूल्यमा अल्लोको धागो बिक्री गर्ने बाध्यतामा छन् । स्थानीय सरकार र राज्यले अल्लो प्रशोधनका लागि अहिलेसम्म लगानी गर्न नसकेको स्थानीय उद्यमीले गुनासो गरेका छन् ।

प्रन्ध वर्षदेखि अल्लो काट्ने, चुट्ने, सुकाउने अनि अल्लोको धागो निर्माण गर्दै आएकी नौमूलेकी ६५ वर्षीया बमकला योगी यसको आम्दानीले दुई छाक हातमुख जोर्न धौधौ भएको बताउनुहुन्छ । जङ्गलमा गाईभैँसी चराउन जाँदासमेत बमकला जस्ता अधिकांश महिला र पुरुषले अल्लोको धागो बुन्ने काम गर्दछन् ।

स्थानीय हरिमाया मगरले अल्लोको धागो निर्माण गरेर महीनामा रु चार हजारसम्म कमाउने गरेको बताउनुहुन्छ । पचपन्न वर्षीया हरिमाया गाउँघरमा गर्ने अन्य काम नभएकाले यसैलाई दुई÷चार पैसा आम्दानीको बाटो बनाएको भयो । धागो बनाउने मेशिन भएका परिवारले घरमै धागो काट्न थालेपछि अहिले अल्लो धेरैजनाको आम्दानीको स्रोत बनेको छ ।

अल्लो प्रशस्त हुने नौमूले गाउँपालिकाका यस्ता ठाउँमा यसको सदुपयोग निकै कम मात्रामा हुने गरेको छ । गरीबी छेक्नलाई मात्र अहिले अल्लो धागो बुन्ने गरिएको बमकलाले बताउनुभयो । आधुनिक प्रशोधन भए गाउँमै राम्रो आम्दानी हुने योगीको भनाइ छ ।

गरीबी धेरै भएका दुर्गम बस्तीका बासिन्दाको लागि धागो बिक्री गरेर थोरै भए पनि आम्दानी हुने र नून तेल खरीद गर्नुपर्ने बाध्यता अहिले पनि कायमै छ । अल्लोको धागो प्रतिकेजी ५०० मा घरबाटै बिक्री हुने गर्दछ । अल्लोबाट, पाखी, कोटलगायतका विभिन्न सामग्री निर्माण हुने र महँगोमा बिक्री हुने गर्दछ । दैलेखका द्धारी, कालिका, बालुवाटार, भवानी, तोलीलगायतका जङ्गलमा हरेक वर्ष उम्रने अनि प्रयोगमा नआएर जङ्गलमै अल्लो सड्ने गर्दछ ।

प्राकृतिक स्रोतको रुपमा स्थानीयस्तरमा उपलब्ध अल्लो प्रशोधन कार्यलाई राज्यले व्यावसायिक रुपमा विकास गर्नसके बाहिरबाट लत्ताकपडा किन्न नपर्ने र गाउँमै रोजगारीको अवसर सिर्जना हुने जिल्ला लघु उद्यमी सङ्घका अध्यक्ष एवं दैलेख उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष कविराज खत्रीले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले सामान्य आम्दानीका लागि केवल धागो मात्र बनाउने काम उद्यमीले गरेका छन् । यसबाट मनग्य आम्दानी नभए पनि गरीबी न्यूनीकरणमा केही योगदान पुगेको छ ।”