मुन्धुम टे«लको ‘फाम ट्रिप’ शुरु

मुन्धुम टे«लको ‘फाम ट्रिप’ शुरु

खोटाङ, ७ फागुन : पूर्वी नेपालको खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभाका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले एक्स्प्लोर गरिएको मुन्धुम पदमार्गको फाम ट्रिप (अध्ययन–अवलोकन यात्रा) शुरु गरिएको छ ।

गत वर्ष एक्स्प्लोर गरिएको उक्त पदमार्गमा टेम्के मैयुङ गाउँपालिकाको आयोजना तथा व्यवस्थापन र मयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन विकास केन्द्र (एमटीएसएस)को संयोजनमा आज बिहानदेखि खोटाङबाट फाम ट्रिप शुरु गरिएको हो ।

नेपाल सरकारले समेत नेपालको उत्कृष्ट १०० गन्तव्यमा छनोट गरेको पदमार्गको सात दिने ट्रिपमा नेपाल टुरिजम बोर्ड, ट्रेकिङ एजेन्सी एशोसिएशन नेपाल (टान), पर्यटनविद्, वातावरणविद्, पत्रकारलगायतको टोली रहेको ट्रिप संयोजक रमेश राईले बताउनुभयो । टोलीले पहिलो दिन हलेसी क्षेत्र तथा किराँतीको उद्गम थलोको रुपमा लिने तुवाचुङ–जायजुम हुँदै दिक्तेल बजारसम्मको यात्रा तथा अध्ययन गर्ने जनाइएको छ ।

दोस्रो दिन खोटाङ र भोजपुरको सिमानामा अवस्थित रमणीय चखेवा भञ्ज्याङ तथा टेम्के डाँडा चढ्ने र विभिन्न गाउँपालिका तथा नगरपालिकाका प्रमुख–उपप्रमुखलगायतका जनप्रतिनिधिसँग अन्तक्र्रिया गर्ने जनाइएको छ । सोही दिन बेलुकी साकेला सिलीलगायत किराँती संस्कृतिको अवलोकन तथा छायाङ्कन गर्ने टोलीको तयारी छ ।

गत वर्षकै एक्स्प्लोरमा रुट मार्किङ, बाटोको अध्ययन, म्याप सर्वेक्षण, जैविक विविधताको अध्ययन पानीको उपलब्धतालगायतका बारेमा जानकारी लिइएको थियो । मुन्धुम मार्गको फाम ट्रिपअन्तर्गत तेस्रो दिन खोटाङ र भोजपुरकै सीमा क्षेत्रको यात्रा तथा अध्ययन–अवालोकन गर्ने योजना रहेको जनाइएको छ ।

दुई जिल्लाको सीमा क्षेत्रमा अवस्थित रमणीय डाँडा दल्सिङे र मेरुङ जङ्गल आसपास क्याम्पिङ गर्ने र सोही दिन मेरुङ डाँडा चढेर धोद्रे देउराली टि हाउसको अध्ययन गर्ने तालिका निर्माण गरिएको छ । अन्य चार दिनभित्र मयुङडाँडा क्षेत्रको हाँसपोखरी घुम्दै मयुम चढ्ने, भोजपुरबजार, टक्सारबजार, तिम्माको सावा गाउँ आदिको भ्रमण गर्ने छ ।

धनकुटाको हिले, इटहरी हुँदै विराटनगर पुगेर प्रदेश सरकारसँग अन्तक्र्रिया गरी काठमाडौँ फर्किएपछि फाम ट्रिप समापन हुने संस्थाको तालिकामा उल्लेख छ । मुन्धुम पदमार्गमा किराँती जीवनशैलीको अध्ययन तथा अवलोकन गर्न सकिन्छ ।

पदमार्गको ट्रिप गर्दा दूधकुण्ड (नुम्बुर), मकालु, सगरमाथा, कुम्भकर्ण हुँदै कञ्चनजङ्घा समेतको हिमाली शृङ्खला अवलोकन गर्न सकिने जनाइएको छ । ठूला–ठूला घाँसे मैदान, लमतन्न फैलिएका चौरीखर्क तथा भेँडीगोठको बीचबाट डाँडाको शीरैशीर दम्साइलो बाटो उक्त पदमार्गको विशेषता रहेको छ ।

गुराँस, चाँप, कटुस तथा लोक्ताको घना जङ्गल अवलोकन गर्न पाइने पदयात्रामा डेढ–दुई घण्टाको दूरीमा परम्परागत गाउँघर भेटिनु अर्को विशेषता रहेको छ । पदमार्गमा पर्ने अधिकांश बस्ती किराँत भएको तथा किराँतीको मौखिक ग्रन्थ ‘मुन्धुम’मा किराँती जीवनशैली तथा संस्कार–संस्कृतिको बारेमा वर्णन हुने भएकाले पदमार्गको नाम मुन्धुम राखिएको एमटीएसएसका अध्यक्ष रमेश राईले बताउनुभयो ।

टेम्केदेखि मयुम हुँदै सिलिचुङसम्म तीर्थयात्रा गर्ने पुरानो प्रचलन रहेको छ । चार जिल्ला समेट्ने पदमार्गको टे«ल मार्किङको क्रममा दैनिक छदेखि आठ घण्टासम्म हिँड्न उपयुक्त हुने निष्कर्ष निकालिएको छ ।