स्थानीयस्तरमै विद्युत् उत्पादन गरिँदै

स्थानीयस्तरमै विद्युत् उत्पादन गरिँदै

रुकुम (पूर्व), २७ माघ : रुकुम (पूर्व)को भुमे गाउँपालिकाले स्थानीयस्तरमै विद्युत् उत्पादन गर्ने भएको छ । गाउँपालिकाले एक मेगावाट विद्युत् उत्पादन गर्न लागेको हो ।

विद्युत् उत्पादनका लागि लुकुम र थवाङ खोलामा पूर्व सम्भाव्यता अध्ययनको काम थालिएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो । “अध्यनपछि एउटा खोलाबाट विद्युत् निकालिने छ”, उहाँले भन्नुभयो । सम्भाव्यता अध्ययन र विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)का लागि चालू आर्थिक वर्षमा रु ३० लाख विनियोजन गरेको मगरले बताउनुभयो । सम्भाव्यता अध्ययनका लागि लुकुम खोला र थवाङ खोलामा रु पाँच÷पाँच लाख तथा डिपिआरका लागि रु २० लाख विनियोजन गरिएको छ । लुकुम खोलामा हाल चार लघुजलविद्युत् आयोजना सञ्चालनमा छन् ।

हाल गाउँपालिकामा सञ्चालित आठ लघु जलविद्युत् आयोजनाबाट ३९२ किलोवाट विद्युत् उत्पादन भइरहेको छ । उत्पादित सो विद्युत् गाउँपालिकालाई पर्याप्त छैन । गाउँपालिकाका झण्डै ७५ प्रतिशत नागरिक अझै अँध्यारोमै बस्न बाध्य छन् ।