बडिखेललाई अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र बनाउन जोड

बडिखेललाई अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र बनाउन जोड

गोदावरी, २७ माघ :‘तपेश्वर महादेव धार्मिक महामहोत्सव–२०७५’ आजदेखि फागुन ६ गतेसम्म गोदावरी नगरपालिका–४ बडिखेलमा शुरु भएको छ । बडिखेललाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न महामहोत्सव हुन लागेको हो ।

महामहोत्सवको उद्घाटन गर्दै सभामुख कृष्णबहादुर महराले तपेश्वर महादेवलाई धार्मिक क्षेत्रका रुपमा मात्र नभई पर्यटकीय क्षेत्रका रुपमा पनि विकास गर्नुपर्ने बताउँदै बडिखेललाई राष्ट्रिय मात्रै हैन अन्तर्राष्ट्रिय पर्यटकीय बनाउन सुझाव दिनुभयो । “जुनसुकै समुदायका मानिसले धार्मिक क्रियाकलापमा लाग्दा पूर्ण रुपमा अन्धविश्वासबाट माथि उठ्नुपर्छ”, सभामुखले भन्नुभयो ।

कार्यक्रममा ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद नवराज सिलवालले बडिखेललाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न यहाँको पहिचान, मौलिकता, धर्म, संस्कृति, रीतिरिवाज, परम्परा र चाडपर्वमा थप जोड दिँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । “तपार्इंहरुले निर्माण गर्ने बेतबाँसको हस्तकलामा आधुनिकता भित्र्याउँदै थप जोड दिनुपर्छ”, सिलवालले भन्नुभयो, “बडिखेललाई उपत्यकाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न यहाँका प्रत्येक व्यक्तिले कमाएको १० प्रतिशत रकम दान गरी अघि बढ्दा नेपाली सनातन धर्मअघि बढ्छ ।”

क्षेत्र नं १ प्रदेशसभा सदस्य लालकुमारी पुनले बडिखेललाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफूले सांसद कोषबाट रु ५० लाख सहयोग गरेको जानकारी दिनुभयो । गोदावरी–४ का वडाध्यक्ष मुकुन्दबहादुर पहरीले महामहोत्सव सम्पन्न गर्न सबैमा सहयोगको अपेक्षा गर्नुभयो ।