जित्न सकेन डर्टमुण्डले ३ गोलको अग्रता लिँदापनि

जित्न सकेन डर्टमुण्डले ३ गोलको अग्रता लिँदापनि

आइतवार, माघ २७ : बोरुसिया डर्टमुण्डले जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राती भएको खेलमा ३-० को अग्रता लिनका बाबजुद अंक गुमाएको छ । होफेनहाइमविरुद्धको खेल ३-३ को बराबरीमा रोकिएपछि शीर्षस्थानमा पकड गुम्ने सम्भावना बढेको हो ।

डर्टमुण्डले खेलको ३२ औं मिनेटमा इंग्लिस खेलाडी जेडन सान्चोको गोलमा अग्रता लिएको थियो । लगत्तै ४३ औं मिनेटमा मारियो गोट्जेले अग्रता दोब्बर पारे । दोस्रो हाफको ६६ औं मिनेटमा राफेल गुरेरोले गोल गर्दै डर्टमुण्डलाई सहज जिततर्फ उन्मुख गराएका थिए ।

तर इसाक बेल्फोडिलले ७५ औं मिनेटमा गोल गर्दै अग्रता कम गरे । पाभेल काडेरबेकले ८३ औं मिनेट र बेल्फोडिलले खेल सकिन ३ मिनेट बाँकी रहँदा हेडर गोल गर्दै होफेनहाइमलाई खेलमा फर्काए । यस बराबरीसँगै डर्टमुण्डले शीर्ष स्थानमा अग्रता बढाउने मौका गुमायो ।

शीर्ष स्थानको डर्टमुण्डको २१ खेलमा ५० अंक रहेको छ । दोस्रो स्थानको बायर्नको २१ खेलमा ४५ अंक छ बहने तेस्रो स्थानको बोरुसिया मोन्चेनग्लाडबाकको ४२ अंक छ ।