झण्डै २ महिनापछि,प्रदेश नम्बर २ को प्रदेशसभा बैठक बस्दै

झण्डै २ महिनापछि,प्रदेश नम्बर २ को प्रदेशसभा बैठक बस्दै

जनकपुर,१७ माघ: प्रदेश नम्बर २ को प्रदेशसभा बैठक बिहीबार बस्दैछ । सत्तारुढ दल राजपा नेपाल भित्रको किचलोको कारण बस्न नसकेको बैठक झण्डै २ महिनापछि बस्न लागेको हो ।

३ बजे बस्ने बैठकले प्रदेश सभा गठनको पहिलो वार्षिकोत्सव मनाउन विभिन्न कार्यतालिका सार्वजनिक गर्ने तयारी भएको बताइएको छ ।

यसअघि दोस्रो अधिवेशनको ४६ औँ प्रदेशसभा बैठकको कार्यसुचिबारे छलफल गर्न १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको संसद सचिवालयका उपसचिव रंजित यादवले जानकारी दिए ।
दोस्रो अधिवेशनको ४५ औ बैठक मंसिर १७ गते बसेको थियो । १ महिना २९ दिन पछि बस्न लागेको प्रदेश सभा बैठकमा प्रदेश सरकारको तर्फबाट प्रदेश लोकसभा, प्रादेशिक दुग्ध विकास बोर्ड र बालवालिकाको हक अधिकार सम्बन्धी विद्येयक ल्याउने तयारी गरेको प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सभा सञ्चालन भएको १ वर्ष बित्नै लाग्दा पनि संसदीय समितिलाई पुर्णता दिलाउन सकेको छैन । प्रदेश नम्बर २ मा ७ सदस्दीय समिति गठन भएपनि समितिका सभापति चयन हुन सकेको छैन ।

यसैवीच प्रदेश सभाले वार्षिकोत्सवको अवसरमा ३ दिवसीय कार्यक्रम घोषणा गर्ने भएको छ । २० गते वृक्षारोपण, वृद्धाश्रम तथा अनाथ बालबालिका आश्रममा लत्ताकपडा तथा फलफुल वितरण र प्रदेश सभा सदस्य तथा खेलकुदमा कर्मचारी वीच व्याडमिन्टन प्रतियोगिता हुने बताइएको छ  ।

प्रदेश नम्बर २ मा प्रदेश सरकार र कर्मचारीबीच समन्वय नहुँदा कामकाजमा समस्या आइरहेको बेला प्रदेशसभाले प्रदेशसभा र कर्मचारीलाई व्याडमिन्टन खेलाएर रिझाउने प्रयास गरेको चर्चा चलेको छ ।
विपक्षी दल नेकपाका सांसद रामचन्द्र मण्डलले प्रदेशसभाले बजेट दुरुपयोग गर्ने मनसायले सस्तो तथा झारो टार्ने गरी प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रम कार्यतालिका सार्वजनिक गरेमा विरोध गर्ने जनाएका छन् ।
त्यस्तै प्रदेश सरकारले १ वर्ष हुन लाग्दा समेत प्रदेशको नामाकरण, स्थायी राजधानी र भाषाबारे टुङ्गो लगाउन नसकेको भन्दै आलोचना भइरहेको छ ।